अर्थ

बैंकबाटै ठगिन्छन् सुन व्यावसायी

बैंकले बेचेको सुनको परिमाण नै कम हुन्छ सुन्दा अचम्म नमाने हुन्छ । यस्तै मर्का व्यहोर्नु परेको छ, काभ्रेका सुन व्यवसायीहरुले । बैंकबाटै किनेको सुनको तौलमा कमी पाएपछि काभ्रेका सुनचाँदी व्यवसायीहरु मर्कामा परेको गुनासो गरेका छन् ।

"एक किलो सुन किन्दा ३ सय मिलीग्राम कम भएको पायौं" सुनचाँदी व्यवसायी संघ काभ्रेका अध्यक्ष रविन शाक्यले भने, ‘अहिलेको बजारमूल्य अनुसार एक किलोमा व्यवासायीले १४ सय रुपैंया घाटा ब्यहोर्नु परेको छ’, उनले थपे ।

उनीमात्रै होइन यसै हप्ता मेगा बैंकबाट थोकमा सुन किनेका बनेपाकै अर्का व्यवसायी पनि मर्कामा परेका छन् । उनले समेत तौलमा ३ सय मिलिग्राम कम पाएको गुनासो गरेका छन् । पछि सुन किन्न जाँदा बैंकले दिँदैन भनेर ती व्यवसायीले नाम उल्लेख गर्न चाहेनन् ।

मेगा बैंकले सुन किनेर लगिसकेपछि गुणस्तर र परिमाणमा गुनासो गर्न नपाइने विक्री बिलमा उल्लेख गरेको छ । यही आधारमा बैंकले गुनासो नसुनेको शाक्यको भनाई छ ।

‘बैंकले सुन बेच्ने क्रममा जोखेर नदिने भएकाले बैंक बाहिर नआइ जोख्नै मिल्दैन’, शाक्यले गुनासो गरे । यही हिसाबले पनि मेगा बैंकले प्रति लटमा डेढ तोलासम्म तौलमा ठगी गरेको उनको आरोप छ । हरेक बैंकलाई नेपाल राष्ट्र बैंकले एक लटमा ५० किलो सुन दिने गरेको छ ।

‘एक किलोको ३ सय मिलिग्रामका हिसाबले ५० किलोमा डेढ तोला मेगा बैंकले असुलेको छ । यो सरासर ठगी हो । संघको केन्द्रमा समेत यो उजुरी लेखि पठाएको छु’, शाक्यले जानकारी दिए ।

संघका अनुसार नेपाल राष्ट्र बैंकले क वर्गका ३२ वटा वाणिज्य बैंकहरुमार्फत सुनचाँदी व्यवसायीहरुलाई थोकमा सुन बेच्दै आएको छ । बनेपाका व्यवसायीहरुले यस हप्ता मेगा बैंकबाट सुन किनेका हुन् ।

‘कि राष्ट्र बैंकबाटे आएको सुनको परिमाण कम भएको प्रमाणित गर्न सक्नु पर्यो नभए मेगा बैंकले नै ठगी गरेको प्रमाणित हुन्छ’, शाक्यले दाबी गरे ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।