कला

अभिनेत्री मनिषा कोइराला नेपालमा

चलचित्र अभिनेत्री मनिषा कोइराला मंगलबार रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी छन्। परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गरेकी उनी काठमाडौँ प्रस्थान गरेको बताइएको छ। उनीसँंगै निजी गाडीमा परिवारका सदस्यसमेत रहेको बताइएको छ।

भारतीय भूमिबाट नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले अभिनेत्री कोइराला र उनको परिवारको स्वास्थ्य परीक्षण गरेका थिए। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने, ‘उहाँ बेलहिया नाकाबाट नेपाल आउनुभएको जानकारी पाएको हुँ तर कहाँ बस्नुभएको छ भन्ने जानकारी छैन।’

नेपाली सेना पश्चिम पृतनाका प्रवक्ता प्रेम थापाले सेनालाई अभिनेत्री कोइरालासहितको परिवारको आगमन विषयमा कुनै जानकारी नभएको तर उनीहरु काठमाडौँ प्रस्थान गरेको सूचना भने पाएको जानकारी दिए। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले पनि कोइराला परिवार नेपाल प्रवेश गरेको पुष्टि गरे।

नेपाल भारत सीमा विवाद चलेका बेला नेपाली राष्ट्रियताका पक्षमा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले नेपालमा उनको प्रशंसा भइरहेको छ। कोइरालाले भारत र नेपाली चलचित्रमा दशकौँदेखि अभिनय गर्दै आएकी थिइन्।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।