मुख्य समाचार राजनीति

प्रधानमन्त्री प्रचण्डलाई संसदमा प्रचण्ड बहुमत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रचण्डले मंगलबार संसदमा विश्वासको मत लिएका हुन्।

प्रतिनिधिसभामा मंगलबार भएको मतदानमा २७५ सदस्यीय प्रतिनिधि सभा सदस्यमध्ये प्रधानमन्त्री प्रचण्डका पक्षमा २६८ जना सांसदले विश्वासको मत दिएका छन्। प्रतिनिधि सभाको आकार (२७५) अनुसार प्रचण्डले पाएको मत ९७.४५ प्रतिशत हो। उपस्थितिको संख्या अनुसार उनले पाएको मत ९९.२५ प्रतिशत हो।

आजको मतदानमा २७० सांसद सहभागी मध्य राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र विपक्षमा मतदान गरेका छन्। केसी र सुवालले छलफलकै क्रममा विपक्षमा मतदान दिने बताएका थिए। निलम्बितसहित पाँच सांसद मतदानमा अनुपस्थित रहे। यस्तै सभामुखको भूमिकामा रहेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणा पनि मतदानमा सहभागी भएनन्।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८९, नेकपा एमालेका ७९, माओवादी केन्द्रका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, लोसपाका ४, जनमतका ६, नागरिक उन्मुक्तिका ४, स्वतन्त्र ३, राष्ट्रिय जनमोर्चाका १ र नेमकिपाका १ सांसद छन्।

प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन नगरेका नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टीले आज बिहान मात्रै उनलाई विश्वासको मत दिने निर्णय गरेका थिए।

नेपाली कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि संसद प्रतिपक्षी विहीन भएको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।