स्वास्थ्य

प्रदेश १ मा कोरोनाको र्‍यापिड डाइग्नोष्टिक टेस्ट शुरु

कोरोना भए नभएको पत्ता लगाउन गरिने र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) प्रदेश १ मा सुरु भएको छ। यो टेस्ट कोरोना भए नभएको छिटो परीक्षण गर्ने विधि हो ।

यो प्रक्रियाबाट पहिलोपटक स्वास्थ्यकर्मीले संकलन गरेको कुल ९३ नमूनाको परीक्षण गर्दा कसैमा पनि कोरोना नदेखिएको कोशी अस्पतालले जनाएको छ । परीक्षण गरिएकामा ८६ पुरुष र ७ महिला थिए । विराटगरको कोशी अस्पतालमा काठमाडौंपछि अधिक परीक्षण गर्न सक्ने ल्याब समेत संचालनमा आएको हो।

प्रदेश १ मा संभावित कोरोना परीक्षणको लागि नमुना संकलन तथा परीक्षण (पीसीआर) अन्तर्गत गरिएको अहिलेसम्मको परीक्षणमा समेत कोरोना नभएको देखिएको छ । यसतर्फ कुल २ सय ११ नमूना संकलन भइ परीक्षण गरिएकोमा ३६ महिलासहित १ सय ५३ पुरुषको रिर्पोट नेगेटिभ देखिएको छ । शनिबार जम्मा ४ महिला र २७ पुरुष गरी जम्मा ३१ जनाको नमूना पठाइएको छ । प्रदेश सरकारद्वारा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षणको प्रबन्ध गरिएको छ ।

सरकारले विभिन्न स्थानमा संचालन गरेका क्वारेन्टाइन राखिएका सर्वसाधारणको नमूना संकलन गर्न शुक्रबारबाट पाँच स्थानमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । झापा, मोरङ र उदयपुरमा निर्मित क्वारेन्टाइन स्थलमा पुगेर स्वास्थ्यकर्मीले नमूना संकलन गरिरहेका छन् । प्रतिष्ठानबाट दिनमा १२ जनाको दरले स्वाब टेस्ट भइरहेको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।