कृषि समाचार समाज

युवा लक्षित कार्यक्रम अन्तर्गत ५८ लाख वितरण गर्ने तयारी

जिल्ला पशुसेवा कार्यालय काभ्रेपलाञ्चोकले युवा लक्षित कार्यक्रमअन्तर्गत विभिन्न शीर्षकमा रु ५८ लाख अनुदानस्वरूप वितरण गर्ने भएको छ । गाई तथा भैँसीको गोठ सुधारका लागि रु ३४ लाख, बङ्गुर फार्म सुधार र बाख्रा खोर सुधारका लागि रु आठ÷आठ लाख, भुसा काट्ने मेसिनका लागि रु पाँच लाख र अन्य अनुदानमा रु तीन लाख गरी कुल रु ५८ लाख वितरण गर्न लागेको जिल्ला पशुसेवा कार्यालय काभ्रेपलाञ्चोकका पशु चिकित्सक मणि सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा बाख्रा र बङ्गुर पालनका लागि चार÷चार जनालाई जनही रु दुई लाख, गाईभैँसी गोठ सुधारका लागि १५ जनालाई प्रतिगाईभैँसी रु १० हजार, भुसा काट्ने मेसिनका लागि १०० जनालाई प्रतिव्यत्ति रु पाँच हजारका दरले अनुदान दिइने छ ।

यीमध्ये भुसा काट्ने मेसिनका लागि अनुदानको रकम वितरण भइसकेको र अन्य अनुदानको रकम दुई साताभित्रै वितरण हुने पशु चिकित्सक सापकोटाले बताउनुभयो । अनुदानस्वरूप वितरण हुने रकमका लागि ५४१ जनाको आवेदन परेको छ ।

पशु चिकित्सक सापकोटाले बाख्राको हकमा फार्मका लागि कम्तीमा ३० वटा माउ बाख्रा, अन्य कृषकको हकमा कम्तीमा १० माउ बाख्रा, गाई तथा भैँसीको हकमा कम्तीमा चार माउ भैँसी र गाईको हकमा कम्तीमा पाँच माउ गाई अनिवार्य रूपमा हुनुपर्ने प्रावधान रहेको बताउनुभयो ।

त्यस्तै उहाँले बङ्गुरको हकमा १० माउ बङ्गुर र मासुका लागि पालिएका बङ्गुरसमेत हुनुपर्ने प्रावधान रहेको जानकारी दिनुभयो । काभ्रेपलाञ्चोक जिल्लाबाट दैनिक दुई लाख लिटर दूध काठमाडौँ जाने गरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । रासस

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।