मुख्य समाचार समाज

छाङरुमा सशस्त्र प्रहरीको गस्ती तस्बिरहरूमा

राज्यको कमजोर उपस्थिति रहेको दार्चुलाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ स्थित भारतीय सीमा जोडिएको छाङरु (गागा) मा सीमा रक्षाको दृढ सङ्कल्पका साथ आजदेखि सशस्त्र प्रहरीले गस्ती थालेको छ।

मुलुकको इतिहास मै पहिलो पटक सरकारले जिल्ला सदरमुकाम खलङ्गास्थित सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मबाट बुधबार यहाँको सीमा सुरक्षाका लागि सशस्त्रको टोली पठाएको हो। आफ्नो बन्दोबस्ती र गाँस, बास, कपासको जोहो गर्ने काम पूर्ण नहुँदै सशस्त्रले सीमा गस्तीलाई उच्च प्राथमिकता दिएर गस्ती नियमित गरेको हो। केही टोली दार्चुलाबाट आउँदै गर्दा अघिल्लो दिन आइपुगेका टोली सुरक्षामा खटिएको थियो।

टोलीले भारतसँग जोडिएको महत्वपूर्ण नाका सीतापुलबाट गस्ती थालेको हो। नेपाल र भारत आवागमनका लागि यहाँको सीमा क्षेत्रमा महाकाली नदीमाथि बनेको काठे कच्ची पुल छ। त्यही पुलबाट नेपालीहरु आवतजावत गर्ने गर्छन्। अहिले लकडाउनका कारण यहाँबाट आवतजावत ठप्प छ। यहाँको महत्वपूर्ण नाका मानिएको त्यही पुलबाट गस्ती थालिएको हो।

सीतापुलको नेपालतर्फको भूभागमा नियमित ड्यूटीमा टोली परिचालन हुने सीमा निगरानी चौकी (बीओपी)का प्रमुख सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दले बताए। उनका अनुसार उक्त बीओपीले यहाँको छाङरु, कौवा, तिङ्कर, बुदी, नितिकुण्डालगायतको क्षेत्रका सुरक्षा गर्नेछ।

गस्ती शुरु गर्नुअघि सीमा अवलोकनका क्रममा गृह मन्त्रीका सुरक्षा सल्लाहकार प्रा. डा. ईन्द्रजीत राई र सशस्त्र प्रहरी निरीक्षक चन्दसँग सीमा सुरक्षामा खटिएको भारतीय एसएसबीका भुपेन्द्रकुमारले भेट गरेका थिए। उक्त अवसरमा नेपालले आफ्नो सुरक्षाका लागि टोली ल्याएको जानकारी दिँदै डा. राईले अन्य विषयहरु सरकारबीच नै छलफल हुने भएकाले आपसी समन्वयमा काम गर्नुपर्ने सुझाव दिए।

नेपाल सरकारको निर्णयमा बुधबार यहाँ सीमा निगरानी चौकी (बीओपी) स्थापना गरिएको थियो । नेपाली सुरक्षा अधिकारीको झिनो उपस्थिति हुने गर्दथ्यो। दुई दिन हिँडेर पुग्ने हुम्लिङमा नेपाल प्रहरीको अस्थायी चौकी छ। तर छाङरु नजिकै नितिकुण्डामा रहेको प्रहरी चौकी भने गत मङ्सिरमा तल झरेपछि यहाँ सुरक्षाकर्मी शून्य थियो।

स्थानीय बासिन्दासमेत जाडोका कारण तल झरेपछि मानवीय उपस्थिति शून्य थियो। यहाँका स्थानीय चिसोका कारण छ महिना तल झर्ने गर्छन्। मङ्सिर १४ गते सदरमुकाम झरेको नेपाल प्रहरी पनि आजबाटै आफ्नो चौकीमा फर्किएका छन्।

सशस्त्र प्रहरीको बीओपी भने स्थानीय जीतबहादुर बोहराको घर मासिक रु २५ हजार तिर्ने गरी स्थापना गरिएको हो। नजिकै १५ रोपनी जग्गा व्यवस्थापन भएको छ। रु ११ करोड रकमसमेत सरकारले छुट्याइसकेको छ। भवन नबन्दासम्म सशस्त्र प्रहरी त्यही भाडाको घरमा बस्नेछ। चौकी स्थापनाका लागि गृहमन्त्रीका सुरक्षा सल्लाहकार तथा द्वन्द्व विशेषज्ञ प्रा. डा. राई, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायणबाबु थापालगायत पुगेका थिए।

बुधबार त्यहाँ सात सशस्त्र प्रहरीलाई पुर्याइएको थियो। बाँकी १८ जना सशस्त्र प्रहरीको टोली र बन्दोबस्तीका सामान आज मात्रै पुर्याइएको हो। बुधबार सेनाको हेलिकोप्टरले केही मात्रै खाद्यान्न लगेकामा आज बाँकी खाद्यान्नसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुर्याएको थियो। सशस्त्र प्रहरीका अनुसार यहाँ उनीहरुलाई छ महिना पुग्ने खाद्यान्न र बन्दोबस्तीका सामान लगिएको छ । केही लत्ताकपडा र बन्दोबस्तीका सामान सेनाको हेलिकोप्टरमा काठमाडौँबाटै ल्याइएको हो।

तस्बिर श्रोत: रासस

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।