कृषि समाज

काँचुली फेर्दै काभ्रेका एकल महिला

२०६३ सालकी “सेलीब्रेटी वुमनहुड” रामदेवी तामाङको बिहान मिर्मिरे नहुँदै सुरु हुन्छ । बिहान ४ बजे उठ्यो, नुहाई धुवाई र पुजापाठ गर्‍यो । अनि बिहानको ७ बज्दा नबज्दै बनेपाको चारदोबाटो र पनौती बीचमा पर्ने गोदाम चोकमा पुगेर सिलाई कटाईको काम सुरु गर्‍यो । बिहानको दुई घण्टा आफैले १० बर्ष अघि खोलेको मनकामना टेलर्समा लुगा सिलाउने कपडा काट्कुट पार्‍यो । साढे ९ बजे डेरामा फर्कियो, खाना पकायो, खायो र फेरि टेलर्समै फर्केर आफु जस्तै एकल महिलालाई सिलाई कटाइको काम सिकायो ।

११ बर्ष अघि २०५८ साल जेठ १२ गते श्रीमान मोटर साइकल दुर्घटनामा परेर बितेपछि एक्लै भएकी रामदेवीलाई अहिले सबैले सम्मान गर्छन् । तर, श्रीमान् बित्दा उहाँलाई सान्त्वना दिने मान्छे समेत थिएनन् । श्रीमान् बितेको महिना दिन नपुग्दै घरबेटीले “भाडा तिर्न नसक्ने हो भने बस्नु पर्दैन, यो तेरो घर होइन निस्केर जा” भने । घरबेटीका वचन सम्झँदा अहिले पनि रामदेवीका आँखा रसाउँछन् र कान बिझाउँछन् ।

श्रीमानको मृत्यु हुँदा न बाँच्ने पैसा थियो, न त घर परिवार नै । त्यसमाथि ६ महिना र ४ बर्षका दुई छोरी एक्लै हुर्काउने र घरव्यवहार मिलाउने जिम्मेवारी थपियो । एकाएक आफ्नो काँधमा जिम्मेवारी आई लाग्दा रामदेवीलाई श्रीमान्ले कति घरभाडा तिर्नुहुन्छ, के गरेर तिर्नु हुन्छ भन्ने पनि थाहा थिएन । श्रीमान् बितेको शोकबाट उम्किन नपाउँदै रामदेवीलाई समाजले “आफ्नो श्रीमान त खाई खाई, अब गाउँका सबै मान्छे खान्छे” सम्म भन्यो । त्यो बेलाको दुख सम्झदा उहाँलाई नरमाईलो त लाग्छ नै, तर तिनै बचनले उहाँलाई आफ्नो बलमा उभिन पनि सिकायो ।

श्रीमान् बितेको एक वर्षपछि २०५९ साल भदौमा आफुजस्तै दुख भोगेका १० जना एकल महिलाहरुको समूह गठन गर्नुभयो । “केही गरौं” भन्ने उद्देश्यले गठन गरिएको एकल महिलाको समूहले चेतना जगाउन नाटक गर्दा झन् तीतो भोग्नु पर्‍यो । रामदवीलाई समाजले त्यतिबेला “जो केटासँग बोल्यो त्यसैलाई लोग्ने र लोग्ने मर्ने बित्तिकै छाडा भएर हिँडी” सम्म भन्यो ।

“के भनेनन् हामीलाई, दुर्वचन त कति हो कति”, रामदेवी भन्नुहुन्छ, “आफ्नो श्रीमान त खाईस् खाईस् अब गाउँका सबै मान्छे खान्छस्, तैले यो गाउँमा विकास गर्नु पर्दैन सम्म भने ।” आफ्नो मात्र नभएर आफुजस्तै दिदीबहिनीको र समाजको समेत विकास गर्न खोज्दा उहाँले यस्ता कुरा बारम्बार सुन्नुपर्‍यो ।

यस्तै अनुभव छ २५ बर्षिया शर्मिला तामाङको पनि । काभ्रेको पोखरी नारायणस्थानकी शर्मिलाको विवाह २०६१ सालमा विक्रम लामासँग भयो । बिहे भएको दुई बर्षमै शर्मिलाका श्रीमानको रहस्यमय ढंगले मृत्यु भयो । भैंसी बेचेको पैसा लिन जाँदा सैनिकले उहाँको श्रीमानलाई माओवादीको आशंकामा मारे भन्ने हल्ला चल्यो । तर लास अझै फेला परेको छैन । श्रीमान बेपत्ता हुँदा शर्मिलाको काखमा १० महिने छोरी थिई । कलिलो उमेरमा श्रीमान् बिछोडिँदाको पीडा छँदै थियो, घरपरिवार र समाजको विभिन्न लाञ्छना सहँदै छोरी हुर्काउने दायित्व पनि थपियो । “रुन मन लागे पनि कौसीमा गएर रुनु पर्ने ! त्यो घरमा मेरोभन्दा कुकुरको ईज्जत बढी थियो”, त्यो बेला ससुराले गरेको दुव्र्यवहार र भोको पेट सम्झिँदा शर्मिलाका आँखा रसाउँछन् । द्वन्द्वकालपछि सरकारले पीडितलाई राहत स्वरुप दिएको एक लाख रुपैयाँ पनि शर्मिलाको हात परेन ।

तर आफु जस्तै दुःखमा परेर एकल महिला समूह गठन गरेकी रामदेवीलाई भेटेपछि शर्मिलाको आँट बढ्यो । शर्मिला भन्नुहुन्छ, “एकल महिला रामदेवी र माया दिदीसित कुरा गर्दा त आफू जस्तो मान्छे कति भेट्ने भेट्ने । अनि अब चाहीँ केहि गर्नु पर्छ भन्ने सोचले काम गर्न थालेँ ।”
शर्मिलाले २०६६ सालमा एकल महिला समूहको सहयोगमा अंश मुद्दा दर्ता गर्नुभयो र त्यही साल मुद्दा जित्नुभयो । त्यसपछि ससुराले गर्ने व्यवहार फेरियो । आत्म विश्वास बढेपछि उहाँले एसएलसी परीक्षा पास गर्नु भयो । अहिले कजेल पढ्ने तयारीमा हुनुहुन्छ । “शिक्षा भएमा एकल होस् वा दोकल कोही कतै गएर पनि हार्नु पर्दैन”, उहाँको विश्वास छ ।

नेपालमा रहेका एकल महिलाहरुमा २० देखि ३५ वर्षका महिलाको संख्या दुई तिहाई छ । अधिकारका लागि महिला, महिला एकल समूहले ७३ जिल्लामा गरेको सर्वेक्षणले तीन मध्ये एकजना एकल महिलाले मात्र लेखपढ गर्न जानेको देखाउँछ ।

काभ्रेमा मात्रै एकल महिलाको संख्या २५ हजारजति छ । रामदेवी तामाङले स्थापना र नेतृत्व गरेको गोदाम चोकको एकल महिला समूहमा अहिले ३ हजार महिलाहरू सदस्य छन् । अध्यक्ष भएपछि तामाङको व्यस्ततासँगै हैसियत पनि बढेको छ । अरुको वास्ता नगरेर अघि बढेका कारण उहाँलाई पहिले गलत भन्नेहरुको समेत अहिले बोल्ने तरिका बदलिएको छ ।

श्रीमानको मृत्युपछि घरबाहिर निस्कँदा र सामाजिक काम गर्दा कुरा काट्नेहरु आजभोलि सम्मान गर्छन् । रामदेवी तामाङको अनुभवले भन्छ, “गाविस र सरकारी संस्थामा भेदभाव नभए र एकल महिलाको हातमा सीप भए समाजको विकास र परिवर्तन गर्न धेरै मेहनत गर्नु पर्दैन । समय पनि धेरै लाग्दैन ।”

रामदेवी र शर्मिला जस्ता एकल महिलाको संघर्षलाई आज समाज र सरकारको साथ चाहिएको छ ।

- इन्टरन्युज नेटवर्कको सहयोगमा

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।