अपराध मुख्य समाचार

चौरजहारी घटनाका अभियुक्त ३४ जनाविरुद्ध अभियोग दर्ता

चौरजहारी नगरपालिका–८, सोतीगाउँमा भएको घटनामा संलग्न रहेको आरोपमा ३४ जना विरुद्ध आज अभियोग दर्ता भएको छ। पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोग दर्ता गराएको हो।

पक्राउ परेका सोती गाउँका २८ र फरार पाँच जनासहित गरी ३३ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीन कसूरमा अभियोग दर्ता भएको हो। त्यस्तै पक्राउ परेका जाजरकोटका एक जनाविरुद्ध मतियार कसुरमा अभियोग दर्ता भएको छ।

पक्राउ परेका र फरार रहेका समेत गरी ३४ जनामध्ये ३३ जनालाई तीन र एक जनालाई तीन वटै कसुरमा मतियार रहेको अभियोग लागेको रुकुम अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए।

उहाँका अनुसार ३३ जना विरुद्ध मुलुकी अपराध संहिताको दफा १७७ (२) अनुसार जन्मकैद, दफा ४१ (क) (ग) बमोजिम आजीवन काराबास र जातीय भेदभाव तथा छुवाछुत कसूर र सजाय ऐन २०६८ को दफा ३ (१) र दफा ४, ५ को कसूरमा दफा ७ (१) क बमोजिम कैद सजायको माग गरिएको छ।

प्रतिवादी इन्द्रबहादुर मल्लको हकमा भने अपराधसंहिताको दफा ३६ को कसूरमा दफा ३३ (ख) बमोजिम सजायको माग दावी गरिएको छ। घटना भएको २३ दिनपछि आइतबार जिल्ला सरकारी वकिल कार्यालयले रुकुम जिल्ला अदालतमा अभियोग दर्ता गरेको हो।

आज अभियोग दर्ता भएपछि अब सोमबारदेखि बयान शुरु हुने स्रेस्तेदार बोहराले बताउनुभयो। पक्राउ परेकामध्ये दुई बालबालिका छन्। उनीहरुको बयान सोमबारदेखि शुरु हुने र बाँकीको बयान मंगलबारदेखि शुरु हुने स्रेस्तेदार बोहराको भनाइ छ।

घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले छुट्टाछुट्टै मितिमा सोती गाउँका २८ र जाजरकोटका एक गरी २९ जनालाई पक्राउ गरेको छ भने पाँच जना अझै फरार छन्।


प्रहरी प्रतिवेदनका प्रतिवादीहरू

डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भन्ने सविन पुन, नाम पविर्तन गरेर युवती, युवतीका बुबा, आमा, दाइ, एक जना नाबालकको पनि नाम परिवर्तित, इन्द्रबहादुर मल्ल, तिलक सन, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, दिपेन्द्र चन्द, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राणा, नविनकुमार घर्ती, विराज पुन मगर, भीमबहादुर पुन, रमित पुन मगर, विष्णु मल्ल

फरार प्रतिवादी

तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढा

पीडितले दिएको किटानी जाहेरीका आधारमा २० र अनुसन्धानका क्रममा ९ जनालाई प्रहरीले पक्राउ गरेको हो। फरार पाँच जनाको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए। सोती घटनामा छ जनाको निधन भएको थियो।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।