अर्थ

मंगलवार खुलेको शेयर कारोवार पुन: बन्द

लकडाउनका कारण बन्द शेयर बजार करिब डेढ महिनापछि मंगलबार खुलेता पनि शेयर बजार ओरालो लागे पछि बन्द गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन)ले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ ।

बोर्डको निर्णयका आधारमा नेप्सेले मंगलबार र बुधबार शेयर कारोवार गरेको थियो । दुई कारोवार दिनमा समेत बजार पुरा समय टिक्नै सकेन ।

बोर्डले दुई प्रतिशतका आधारमा बजार उकालो लागे पनि वा ओरालो लागे पनि सर्किट ब्रेक लगाउने व्यवस्था गरेको थियो ।

लकडाउन जारी रहे पनि बजार सञ्चालन गर्ने निर्णयअनुसार खुलेको बजार आज पुनः बोर्डको निर्देशनअनुसार नै बन्द गरिएको नेप्सेले जनाएको छ ।

कोरोना भाइरसको जोखिम काठमाडौं उपत्यकामा परेको र सरकारले यही जेठ ५ गतेसम्म लकडाउन जारी राखेका कारण त्यसलाई कडाइका साथ लागू गर्नुपर्ने भएकाले बजार बन्द गरिएको नेप्सेले जनाएको छ ।

लकडाउनलाई पूर्णरुपमा पालन गर्न र मानिसको आवतजावत गर्न सवारी पासमा समेत कडाइ गरेको र यस्तो अवस्थामा लगानीकर्ताको धितोपत्रको पहुँचमा असहजता हुने देखिएकाले लगानीकर्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर लकडाउन अवधिभर कारोवार स्थगन गर्न बोर्डले निर्देशन दिएको छ ।

बोर्डको निर्देशनअनुसार आज बसेको नेपाल स्टक एक्सचेञ्ज सञ्चालक समितिको निर्णयअनुसार कारोवार स्थगन गरिएको हो ।

नेप्सेका उपप्रबन्धक प्रविन पान्दाकका अनुसार लकडाउन अवधिभर बजार अब बन्द रहनेछ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।