अर्थ

बैंक आलोपालो, किनमेल साँझ–बिहान

फाइल तस्बिर // नेपाल राष्ट्र बैंक

कोरोना सङ्क्रमणको जोखिम हुन नदिन सदरमुकाममा सञ्चालित बैंकले आलापालो गरी सेवा दिने भएका छन्। २८ बैंकमध्ये अधिकांश हप्ताको दुई दिन र केही तीन दिन खुल्ने भएका हुन्। बागलुङ नगरपालिका र बैंकर्स एशोसिएसनबीचको समझदारीमा उक्त निर्णय भएको हो।

बैंकले बिहान ११ देखि १ बजेसम्म मात्र सेवा दिने गरी प्रबन्ध मिलाइएको बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणि शर्माले जानकारी दिए। नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक आइतबार, मङ्गलबार र बिहीबार खुल्नेछ । ग्लोबल आइएमई, एभरेष्ट, सिटजन, बैंक अफ काठमाण्डू, सेञ्चुरी कमर्सियल, गण्डकी विकास बैंक, गरिमा विकास बैंक, ग्रिन डेभलपमेण्ट, हिमालयन र ज्योति विकास बैंकले आइतबार र बुधबार सेवा प्रवाह गर्नेछ।

यस्तै कुमारी, लक्ष्मी, माछापुर्च्छ्रे, नबिल, नेपाल बंगलादेश, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक सोमबार बिहीबार खुल्नेछ। एनआइसी, एनएमबी, प्राइम कर्मसियल, कृषि विकास, साङ्ग्रिला विकास, नेपाल एसबीआइ र सिद्धार्थ बैंकले मङ्गलबार र शुक्रबार सेवा दिनेछ। सबै बैंक एकसाथ खुल्दा सेवाग्राहीको भीडभाड हुने र कारोना सङ्क्रमणको जोखिम बढ्ने देखिएकाले आलोपालो गरेर बैंक खोल्ने निर्णय भएको बैंकर्स एशोसिएसनले जनाएको छ।

खाद्यान्न पसल बिहान र साँझ मात्र खुल्ने
सरोकार भएका पक्षको बैठकले खाद्यान्न, तरकारी र फलफूल पसल पनि निश्चित समयमा मात्र खोल्ने निर्णय गरेको छ। त्यस्ता पसल बिहान ६ देखि १० र साँझ ४ देखि ७ बजेसम्म मात्र खोल्ने निर्णय भएको बागलुङ नगरपालिकाले जनाएको छ। दिनभर पसल खोल्दा अनावश्यकरूपमा मानिसको आवतजावात बढेपछि कडाइ गरिएको हो।

व्यवसायी तथा उपभोक्तालाई पनि केही समय जिल्लामै उत्पादित तरकारी बेच्न र उपभोग गर्न भनिएको छ। बाहिरबाट हुने खाद्य पदार्थको ढुवानीलाई समेत केही समय रोक्न आग्रह गरिएको छ । सदरमुकामबाट गाउँमा अत्यावश्यक खाद्य पदार्थ ओसार्ने सवारी साधान पनि बिहान, बेलुकाको समयमा मात्र सञ्चालन हुने भएका छन्।

स्थानीय प्रशासनले बिहीबारदेखि बन्दाबन्दीलाई थप कडा तुल्याएको छ। जिल्ला बाहिर जाने सबै सवारी अनुमतिपत्र रद्द गरिएको छ। शनिबारदेखि जिल्लाभित्र जारी गरिएको सवारी अनुमतिपत्र पनि खारेज हुने भएको छ। बागलुङ कोरोना सङ्क्रमणको उच्च जोखिममा छ। गत चैतमा भेटिएका दुई सङ्क्रमित उपचारपछि निको भएपछि थप सङ्क्रमण हुन नदिन उच्च सतर्कता र निगरानी बढाइएको छ।


रामबहादुर थापा

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।