अर्थ

काभ्रेका तीन सहकारीलाई एशियाली अवार्ड

एशियाली ऋण महासंघले काभ्रेका तीन सहित नेपालका पाँचवटा सहकारीलाई पुरस्कार दिने निर्णय गरेको छ। कृषि र शिक्षामा अग्रणी मानिदै आएको काभ्रे सहकारीका क्षेत्रमा समेत उत्कृष्ट भएको छ।

पनौतीको सामुदायिक साकोस, खोपासीको विन्धबासिनी र बुडोलको बुडोल सामुदायिक साकोसले महासंघले प्रदान गर्ने तल्लो तहको ‘ब्रोन्ज’ अवार्ड प्राप्त गरेका हुन्। त्यस्तै भक्तपुरको सिद्धिगणेश र दोलखाको जनचेतना सहकारीले पनि सोहि अवार्ड प्राप्त गरे। नेफ्स्कुनले नेपालका सातवटा सहकारीलाई अवार्डका लागि काम गरिरहेको भए पनि भक्तपुरको बाराही र उपकार सहकारीले अझै अवार्ड प्राप्त गर्न सकेका छैनन्। सहकारीहरुले एशियाली ऋण महासंघका सुचकाङ्कहरुमा उर्तिण हुदै गए पछि तेश्रो सिल्भर, दोश्रो गोल्ड र सबै भन्दा उत्कृष्ट प्लेटेनियम अवार्ड प्राप्त गर्नेछन्। पुरस्कार प्राप्त गरेका सहकारीहरुले ६०–७० अंक ल्याई यो तहको पुरस्कार प्राप्त गरेका हुन्।

सिल्भर तहका लागि ७२–८०, गोल्डका लागि ८१–९० र प्लेटेनियमका लागि त्यो भन्दा माथिको अंक प्राप्त गर्नु पर्छ। विशेष गरी संस्थाको संस्थागत पुँजीको ५ प्रतिशत कुल सम्पत्तीको भन्दा धेरै र भाखा नाघेको ऋण कुल उठ्न बाँकी ऋण ५ प्रतिशत भन्दा कम भएका सहकारीहरुले मात्रै यसमा प्रतिस्पर्धा गर्न सक्नेछन्। महासंघको मापदण्डमा राखिएको सुचकाङ्कमा समावेश भए पनि यि दुई बुँदामा अनुतिर्ण सहकारीहरु यसका लागि अयोग्य हुन्छन्।

पाँचवटा सहकारीहरु एशियाली ऋण महासंघको संरचनामा कारोवार गरेको भन्दै अवार्डका लागि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडलाई पत्राचार गरेको छ। अवार्ड पाउने सहकारीहरुलाई सेप्टेम्वर ४ अथार्त भदौ १९ गते फिलिपिन्सको मनिलामा हस्तान्तरण गरिनेछ। नेपालबाट उक्त सहकारीका पदाधिकारी तथा नेफ्स्कुनका ४४ जनाको प्रतिनिधि मण्डल फिलिपिन्स जाने कार्यक्रम तय भैसकेको छ।

नेफ्सकुनका केन्द्रिय कोषाध्यक्ष दिपक थापाले नेपालका सहकारीहरुको गुणस्तर एशियामै उत्कृष्ट भएको प्रमाणले नेपालले गर्व गर्नुपर्ने बताए। यो अवार्ड पछि थप गुणस्तर र पुरस्कारका लागि अगाडी बढ्नुपर्ने थापाले बताए। एशियाली महासंघले नेपालका ७ सहकारी र फिलिपिन्सका ४ सहकारीलाई ‘पाइलट’ प्रोजेक्टका रुपमा लिएको थियो। आवेदन दिन महासंघले तयार गरेर पठाएको ८६ सुचकांक भन्दा अलग्गै संरचना तयार गरी त्यसमा प्रतिस्पर्धा गर्न सक्नेले मात्रै आवेदन दिन सक्ने ब्यवस्था छ। ‘८६ सुचकांङ्कको प्रति सुचकाङ्क १–४ नम्वरका दरले ३ सय ४४ पूर्णाङ्कमा २ सय ८ अंक ल्याउने सहकारीले मात्रै अवार्ड पाउनेछन्’– नेफ्स्कुनका कार्यक्रम अधिकृत बाबुराम न्यौपानेले भने। पहिलो चरणमा पेश भएका सहकारीहरुको निर्णय नआउदै दोश्रो चरणमा ११ वटा सहकारीले आवेदन दिएको १ वर्ष भएको छ भने तेश्रो चरणमा १३ वटा सहकारीले आवदेन दिएको ६ महिना वितेको छ। मापदण्डमा सहभागि हुने सहकारीहरुले विशेषगरी संस्थाको संचालनमा वित्तिय परिवेश, सदस्यको दृष्टिकोण, आन्तरिक ब्यवसायी दृष्टिकोण र सिकाई र वृद्धिको क्षेत्रमा उत्कृष्टता हासिल गर्नुपर्नेछ।

एशियाली ऋण महासंघले प्रदान गरेको यो अवार्डले नेपालका सहकारीहरु प्रतिको विश्वास वढेको थापाले बताए। नेपालका सहकारीहरुले एशियामै प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति र विश्वास आर्जन गरिसकेका छन्।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।