शिक्षा

माकजु काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा नियुक्त

ram-kantha-makajuकाभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा डाकटर रामकण्ठ माकजु नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपतिसमेतरहेका प्रधानमन्त्री बाबुराम भट्टराईले आज माकजुलाई उपकुलपतिमा नियुक्त गरेका हुन् । शिक्षामन्त्री एवं सहकुलपति दिनानाथ शर्माको संयोजकत्वमा रहेको छनोट समितिले माकजुलाई उपकुलपतिमा नियुक्त गर्न सिफारिस गरेका थिए ।

सोही समितिको सिफारिसका आधारमा माकजु उपकुलपति नियुक्त भएका हुन् । छनोट समितिमा पूर्वसभामुख एवं विश्वविद्यालयका सिनेट सदस्य दमननाथ ढुंगाना र लोकबिक्रम थापा सदस्य रहेका थिए । माकजु धुलिखेल अस्पतालका संस्थापक हुन् । समितिले अन्य व्यक्तिहरुको नाम पनि सम्भावित उम्मेदवारको सूचीमा राखे पनि माकजुसँग वार्गेनिङ मिलेका कारण उनी नियुक्त भएको बताइएको छ । यसअघिका उपकुलपति सुरेशराज शर्माले माओवादी तथा प्रधानमन्त्री भट्टराईको दबाबमा पदबाट राजिनामा दिएका थिए ।

शर्माले आफ्नो कार्यकाल दुई बर्ष बाँकी छँदै राजिनामा दिएका थिए । माओवादीले देवदह मेडिकल कलेज, विराट मेडिकल कलेज लगायतलाई विश्वविद्यालयले स्वीकृति नदिएको भन्दै शर्मालाई राजिनामा दिन दबाब दिएको थियो । शर्मा काठमाडौं विश्वविद्यालय स्थापनादेखि नै उपकुलपति रहँदै आएका थिए । माकजुलाई नियुक्त गर्ने तयारी भइरहँदासमेत विश्वविद्यालयका केही प्राध्यापकले छनोट समिति नै ठीक नभएको बताउँदै आएका थिए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।