मुख्य समाचार राजनीति

राष्ट्रपतिद्वारा प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त

आइतवार साँझ राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ, "सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभाका माननीय सदस्य श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ।"

संविधानको उक्त उपधारामा प्रतिनिधिसभामा “दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्य” प्रधानमन्त्री नियुक्त हुनसक्ने व्यवस्था रहेको छ। दाहालले आइतवार शीतलनिवासमा पुगेर आफूलाई १७० जनाभन्दा बढी सांसदहरूले प्रधानमन्त्रीका लागि समर्थन गरेको दाबी पेस गरेको र सोही आधारमा उनी प्रधानमन्त्री नियुक्त भएको राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले बताए।

दाहालसँगै उनलाई समर्थन गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित अन्य दलका नेताहरू शीतलनिवास पुगेका थिए।

यसअघि पाँच दलीय गठबन्धन छाडेर एमालेसँग सत्ता साझेदारीका लागि हात बढाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई एमालेले प्रधानमन्त्रीका रूपमा समर्थन गर्ने निर्णय भएको नेताहरूले बताएका थिए।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।