ग्लोबल मुख्य समाचार

विदेशमा अलपत्र नेपाली फर्काइँदै, आज बङ्गलादेशबाट ल्याइने

विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइँदैछ। विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज प्रयोग हुनेछन्।

नेपाल एयरलाइन्सले आज बङ्गलादेशको ढाकाबाट अलपत्र नेपाली नागरिक ल्याउने कार्यतालिका छ। नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः३० बजे ढाका उड्ने छ भने उताबाट दिउँसो २ः३० बजे काठमाडौँ अवतरण गर्नेछ। निगमका प्रवक्ता अर्चना खड्काले विदेशमा अलपत्र नेपालीलाई निगमका जहाजले आजदेखि स्वदेश ल्याउन शुरु गर्ने जानकारी दिए।

नेपाली लिन विभिन्न मुलुकका गन्तव्य पुग्ने निगमका जहाज यताबाट प्रायः रित्तै जानेछन्। तथापि निगमका जहाज जाने गन्तव्यमा यात्रु जान चाहे लगिदिनेछ। निगमका प्रवक्ता खड्काले नेपालबाट फर्कन चाहने यात्रुलाई सम्बन्धित मुलुकको दूतावास वा नेपालको परराष्ट्र मन्त्रालयको लिखित कागजातका आधारमा लैजान सकिने व्यवस्था मिलाइएको बताए।

सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्न देशबाट गरिने चाटर्ड उडानको कार्यतालिका बनाइसकेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो। त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ।

नेपाल एयरलाइन्सका दुई वाइडबडी र दुई न्यारोबडी गरी चार जहाजले उडान गर्नेछन् भने नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्ससँग चार न्यारोबडी जहाज छन्।

मितिदेश
जुन १४ढाका, बङ्गलादेश
जुन १५माले(माल्दिभ्स), क्वालालम्पुर(मलेशिया)
जुन १६दुबई, दोहा (कतार)
जुन १७बैंकक (थाइल्याण्ड), सिड्नी (अष्ट्रेलिया), बहराइन
जुन १८रियाद(साउदी अरेबिया), दुबई
जुन १९कुवेत, नारिता (जापान)
जुन २०साइप्रस, क्वालालम्पुर, दोहा(कतार)
जुन २१सोल(दक्षिण कोरिया), मस्कट(ओमान)
जुन २२मेल्बर्न, बैंकक : सम्भावित
जुन २३नारिता (जापान), माले
जुन २४जेद्दाह (साउदी अरब), कुवेत : सम्भावित
जुन २५लसएन्जलस या डालस (अमेरिका) : सम्भावित

निगमको अपरेशनल विभागका अनुसार नेपाल एयरलाइन्सले जुन १४ तारिखमा बङ्गलादेशको ढाका, जुन १५ मा माल्दिभ्सको माले र मलेशियाको क्वालालम्पुरमा उडान गर्नेछ। त्यसैगरी जुन १६ मा दुबई र कतारको दोहा, जुन १७ मा अष्ट्रेलियाको सिड्नी, थाइल्याण्डको बैंकक र बहराइनबाट नेपाली ल्याइनेछ। जुन १८ मा साउदी अरेबियाको रियाद र दुबई, जुन १९ मा जापानको नारिता र कुवेत, जुन २० मा साइप्रस, क्वालालम्पुर र दोहा उडान हुनेछ।

त्यसैगरी जुन २१ मा दक्षिण कोरियाको सोल र ओमानको मस्कट, जुन २२ मा सम्भावित मेल्बर्न, बैंकक, जुन २३ मा नारिता र माले, जुन २४ मा सम्भावित साउदी अरबको जेद्दाह, कुवेत र जुन २५ तारिखका दिन सम्भावित अमेरिकाको लसएन्जलस या डालस उडान गर्ने योजना रहेको निगमले उल्लेख गरेको छ। हिमालय एयरलाइन्सले पनि बङ्गलादेश, श्रीलङ्का, मलेशिया, कतार, साउदी अबर, युएई, कुवेतलगायत मुलुकबाट चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याउनेछ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।