राजनीति

विदेशमा रहेका नेपालीको उद्धारमा तदारुकता बढाउन जरुरी - नेपाली कांग्रेस

फाइल तस्बिर: नेपाली कांग्रेसले पदाधिकारी बैठक

नेपाली कांग्रेसले विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिएको परिस्थितिमा नेपाल सरकारले मुलुकभित्रका र मुलुक बाहिर रहेका सबै नेपालीलाई कोरोनाबाट जोगाउन क्षमता अभिवृद्धि गरी महामारीविरुद्ध लड्नुपर्ने र अभिभावकत्व प्रदान गर्नुपर्ने जनाएको छ।

कांग्रेसले स्वदेशमा रहेका नेपालीका साथै विदेशमा रहेका करिब ५० लाख नेपालीको फरक–फरक स्थितिको सूचना विश्लेषण र आवश्यक कदमबारे छलफल गरी विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई पनि राहत, उपचार र उद्धारमा तदारुकता बढाउन जरुरी रहेको उल्लेख गरेको हो। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक वक्तव्यमार्फत विदेशमा रहेका नेपालीबारे काँग्रेसका तर्फबाट नेपाल सरकारसमक्ष प्रधानमन्त्री एवं पराराष्ट्र मन्त्रीको तहमा पटकपटक सम्पर्क, संवाद, आवश्यक आग्रह, ध्यानाकर्षण एवं माग प्रस्तुत गरिएको उल्लेख गराएका हुन्।

हालसम्म विश्वभर करिब एक हजार २०० भन्दाबढी नेपाली कोरोनाबाट सङ्क्रमित भएका र करिब ५० नेपालीको मृत्यु भइसकेको उल्लेख गर्दै उहाँले नेपालीलाई सङ्क्रमणबाट जोगाउने र सङ्क्रमित भएकाको उपचारमा ढिलाइ हुन नदिन सङ्गठित पहल जरुरी रहेको बताए। कांग्रेसले सम्बन्धित देशमा रहेका नेपाली समुदायलाई थप प्रेरित र सङ्गठित गर्न जरुरी रहेको उल्लेख गर्दै नेपाल सरकारले थप कुटनीतिक एवं व्यवस्थापकीय पहल गर्नुपर्ने जनाएको छ।

-
रासस

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।