मुख्य समाचार राजनीति

सांसदद्वारा नयाँ नक्सा बनाउने सरकारी निर्णयको स्वागत

प्रतिनिधिसभाका सदस्यहरुले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय स्वागतयोग्य रहेको उल्लेख गर्दै तत्कालै नक्सा सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आज प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफका सम्बन्धमा स्पष्टीकरण माग गर्दै सांसदहरुले तत्कालै नक्सा सार्वजनिक गर्न माग गरेका छन्। यसका लागि सरकारलाई संसद् र राजनीतिक दलले पूर्ण सहयोग गर्नेसमेत उनीहरुले प्रतिबद्धता जनाएका छन् । सांसदहरुले कोभिड–१९ को असर कम गर्न र सङ्क्रमण रोक्नका लागि आवश्यक कदम चाल्न पनि सरकारसँग माग गरेका छन्।

कालापानी लिम्पियाधुरा लिपुलेकलाई समेटेर नक्सा सार्वजनिक गर्ने सरकारको निर्णयको स्वागत गर्दै नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले भने, ‘सडक उद्घाटन गरेपछि मात्रै थाहा हुने अवस्था किन आयो ? कसका त्रुटिले हो ? जवाफ चाहियो ।’ उनले कूटनीतिकरूपमा छिमेकी देशसँग छलफल कति भयो जानकारी भन्दै जानकारी माग गरे । उनले कोभिड–१९ को सङ्क्रमण रोक्न पछिल्लो समयमा भइरहेको गतिविधिबारे जानकारी दिनसमेत माग गरे।

नेपाली काँग्रेसका सांसद गगन थापाले सरकारको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णयको स्वागत गर्दै उक्त विषयमा विभिन्न आशङ्का उब्जिरहेको बताए । उनले नक्साको कदापि दुरुपयोग नहुने विश्वास व्यक्त गरे।

सांसद प्रेम सुवालले सरकारले स्वीकृत गरेको नक्सा सार्वजनिक किन नगरेको भन्दै प्रश्न उठाए। उनले नयाँ नक्साअनुसार काँडेतार लगाउनसमेत सरकारलाई सुझाव दिए। अर्का सांसद डा.अमरेशकुमार सिंहले प्रदेश नं २ मा कोरोना प्रभावित र मजदुरको अवस्था दयनीय भएकाले तत्कालै व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे। उनले कर्णाली र प्रदेश नं २ लाई नीति तथा कार्यक्रममा सरकारले सम्बोधन नगरेको भन्दै चिन्ता प्रकट गरे।

सांसद उमाकान्त चौधरीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषयमा ठोस कार्यक्रमबारे र कोरोनाका कारण सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल भित्र्याउने विषयमा सरकारको तयारीबारे जानकारी माग गरिन्। सांसद भीमसेनदास प्रधानले सोमबार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार नेपालको नक्सा तत्काल सार्वजनिक गर्न माग गरे।

काँग्रेसका सांसद मीनेन्द्रप्रसाद रिजालले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नक्सा जारी गर्ने सरकराको निर्णयको स्वागत गरे । अतिक्रमित भूभाग फिर्ता गराउन सरकारलाई संसद र काँग्रेसले के सहयोग गर्नुपर्ने हो सहयोग गर्न तयार रहेको भन्दै उनले प्रतिबद्धता जनाए।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।