मुख्य समाचार राजनीति

सरकारले औपचारिक रुपमा सार्वजनिक गर्‍यो नयाँ नक्सा - समेटियो लिम्पियाधुरा, लिपुलेक र कालापानी

सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा सार्वजनिक गरेको छ। बुधबार दिउँसो सिंहदरबारस्थित भुमि व्यवस्था तथा सहकारी मन्त्रालयले सरकारी टेलिभिजन च्यानलको प्रत्यक्ष प्रशारणमार्फत सो अद्यावधिक नक्सा सार्वजनिक गरेको हो ।

नक्सा सार्वजनिक गर्दै भुमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले यो अवसर सिंगो नेपाल र नेपालीका लागि ऐतिहासिक क्षण रहेको बताइन् । सबै ठाउँमा नयाँ सार्वजनिक भएको नक्सा प्रयोग गर्न आग्रह गर्दै ‘नेपालको मानचित्र बदलिएको छ, यसले नेपालीको मनोबललाई अझ उच्च बनाएको छ’ भन्नुभयो ।

उक्त अद्यावधिक नक्सामा नेपालको उत्तरी, पुर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ।

गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भारतले अतिक्रमण गरेको नेपालको सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी भुभाग समेटेर नेपालको नक्सा प्रकाशन गर्ने निर्णय गरेको थियो ।

नेपालले अद्यावधिक राजनितिक नक्सा पारित गरेसँगै नेपालको क्षेत्रफल ३ सय ३५ वर्ग किलोमिटर बढ्ने बताइएको छ।

गत बैशाख २७ गते भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालको भुभाग लिपुलेक हुँदै चिनको मानसरोवर जोड्ने सडकको डिजिटल उद्घाटन गरेपछि नेपालले आपत्ति जनाएको थियो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।