मुख्य समाचार राजनीति

प्रतिनिधि सभा उपसभामुख निर्वाचित भइन् पुष्पा भुसाल

प्रतिनिधि सभाको उपसभामुखमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल निर्वाचित भएकी छन्। शुक्रबार प्रतिनिधि सभामा भएको मतदानमा उनी १४८ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित भइन्।

उपसभामुख निर्वाचनका लागि शुक्रबार प्रतिनिधि सभामा निर्वाचन भएको थियो। उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा र राजमोले समर्थन गरेका थिए।

भुसालको प्रस्तावक देव गुरुङ र लक्ष्मी चौधरी समर्थक थिए। शुक्रबार प्रतिनिधि सभाका २४२ सांसद उपस्थित रहेकोमा मतविभाजन प्रक्रियाबाट भएको मतदानमा भुसालले १४८ मत प्राप्त गरेकी हुन्। भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा ९३ मत परेको थियो। प्रस्तावमा मत दिन्न भन्ने विकल्पमा १ मत परेको थियो।

भुसाल निर्वाचित भएसँगै नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि मतदान गरिएन।

भुसाल दोस्रो प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन्। यही संसदको आरम्भमा उनी एमालेकी सांसद शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन्। भूसाललाई यसपल्ट सत्ता गठबन्धनका ५ दलसहित लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको थियो।

तत्कालीन सभामुख कृष्णबहादुर महराले आफुमाथि बलात्कारको आरोप लागेपछि राजीनामा दिएका थिए। त्यसपछि सभामुखका लागि निर्वाचन हुनुअघि तुम्बाहाङ्फेले राजीनामा दिनुपरेको थियो। माओवादी केन्द्र र नेकपा एमाले मिलेर नेकपा बनिसकेका कारण तुम्बाहाङ्फेको उपसभामुखमा निरन्तरता हुन सकेन। तुम्बाहाङ्फेको राजीनामापछि २९ महिनादेखि उपसभामुख पद रिक्त थियो।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।