राजनीति

शिक्षक संघ काभ्रेमा हुमागाईं पक्षको पुरै प्यानल विजयी

नेपाल शिक्षक संघ काभ्रेको अध्यक्षमा पुन अश्विन चौलागाईं निर्वाचित भएका छन् । कांग्रेस जिल्ला सभापति शिव हुमागाईं पक्षधर चौलागाईं पूर्वसभापति मधु आचार्य पक्षका रामवहादुर लामालाई पराजित गर्दै दोस्रोपटक अध्यक्ष पदमा निर्वाचित भएका हुन् । निर्वाचनमा चौलागाईंले ६ सय ३३ मत ल्याए भने लामाले ४ सय २३ मत ल्याएका छन् । हिजो दिउँसो भएको मतदानको मतगणना गएराती अबेर सकिएको थियो ।

संघको अध्यक्षसहित पुरै पदमा हुमागाईं पक्षधर प्यानल विजयी भएको छ । केन्द्रीय प्रतिनिधिमा एकजनामात्रै आचार्य पक्षका आएका छन् । संघको उपाध्यक्षमा आचार्य पक्षका धुर्वराज गिरीलाई पराजित गर्दै हुमागाईं पक्षका राजेशराज महत निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा आचार्य पक्षकी महेश्वरी थापालाई पराजित गर्दै शुमलक्ष्मी मानन्धर विजयी भएकी छन् भने सचिवमा केशव खनाल तथा सहसचिवमा शम्भुप्रसाद घिमिरे निर्वाचित भए । सचिवको पदमा आचार्य पक्षबाट नवराज तिमल्सिना र सहसचिवमा आचार्य पक्षका दयाराम पौडेल पराजित भएका छन् । संघको कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका चन्द्रकुमार शाह आफ्नो पक्षको भएको आचार्य पक्षले दाबी गरेको छ । संघको केन्द्रीय पार्षदमा नारायण तिमल्सिना, दामोदर गौतम, आनन्द सापवकोटा र किशोर अधिकारी निर्वाचित भएका छन् । त्यसमध्ये दामोदर गौतममात्रै आचार्य पक्षका हुन् । उनी दुईवटा कांग्रेस भएको बेला नेपाली कांग्रेस प्रजातान्त्रिक निकट शिक्षक संघको अध्यक्ष रहेका थिए । महिलातर्फबाट केन्द्रीय पार्षदमा जानुकादेवी भट्टराई निर्वाचित भएकी छन् ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।