समाज

स्वीस सरकारद्धारा नेपाललाई ३० हजार थान पिसिआर टेष्ट किट सहयाेग

स्वीटरल्याण्ड सरकारले सहयोग गरेको ३० हजार थान पीसीआर टेष्ट किट आज नेपाल आइपुगेको छ । पिसिआर टेष्टकिट सहित स्वीस सरकार विकास सहयोग एसडिसिले गरेको अन्य स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी विमान मार्फत आज आइपुगेको हो ।

स्वीस सरकारको तर्फबाट उक्त स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई आज हस्तान्तरण गरिएको छ । विमानस्थल पुगेर नेपालका लागि स्वीस राजदुत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्यमन्त्री ढकाललाई सहयोग सामग्री हस्तान्तरण गरे ।

टेष्ट किट हस्तान्तरण गर्दै नेपालका लागि स्वीस राजदुत क्यापलरले संक्रमण नियन्त्रणका लागि आवश्यक र महत्वपूर्ण परीक्षणलाई ३० हजार टेष्ट किटले सुदृढ गर्ने बताए ।

यसैगरी स्वीस सरकारले कोभिड-१९ को पुर्वतयारी, राहत र पुनर्स्थापना का लागि सहयोग गर्न ५० लाख स्वीस फ्र्याङ्कको कोष स्वीकृत गरेको छ ।

सहयोगका लागि निर्माण भएको उक्त कोषले महामारी प्रभावित नेपालको सामाजिक, आर्थिक असर घटाउन र आवश्यकता तथा समावेशीतामा आधारित कार्यहरु प्रभावकारी रुपमा सम्बोधन गर्ने विश्वास स्वीस सरकारले व्यक्त गरेको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।