समाज

धुलिखेलमा विमानस्थल बन्ने योजना असफल

सरकारले काभ्रेको ठूलोचौरमा निर्माण गर्ने भनिएको विमानस्थल प्राविधिक रुपमा उपयुक्त नभएको ठहर गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको अध्ययन समितिले तयार पारेको प्रतिवेदनमा धुलिखेल नजिकको बुढीचौरमा साना तथा मध्यम खालका आन्तरिक उडानमा संलग्न जहाजहरू मात्रै अवतरण गर्न सकिने र ठूला खालका जहाज अवतरण गर्न नसकिने निष्कर्ष निकालेको छ ।

अध्ययन समितिका संयोजक तथा प्राधिकरणका उपमहानिर्देशक सुमनकुमार श्रेष्ठले दिनुभएको जानकारीअनुसार बुढीचौर आन्तरिक विमानस्थलका लागि प्राविधिकरुपमा अनुपयुक्त देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको चाप बढेकाले आन्तरिक विमानस्थल काठमाडौँ बाहिर सार्न प्राधिकरणले राजधानी नजिकको नयाँ स्थानको खोजी गरेको थियो । प्राधिकरणले ठूलोचौरमा आवश्यकताभन्दा सानो क्षमताको विमानस्थल बन्ने बताएको छ । “सो स्थानमा निर्माण हुन सक्ने विमानस्थलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानको २० प्रतिशतमात्र धान्न सक्छ” उपमहानिर्देशक श्रेष्ठले रासससँग भन्नुभयो ।

चार महिनाभन्दा लामो समय लगाएर गरिएको अध्ययनबाट सो स्थान विमानस्थल निर्माणका लागि अनुपयुक्त देखिएको हो । काभ्रेको पाँचखालस्थित आँपघारी, बनेपाको नागीडाँडा र रायमाझी गाउँमा विमानस्थल निर्माण अनुपयुक्त देखिएपछि प्राधिकरणले चौथो स्थानका रुपमा ठूलोचौर छनोट गरेको थियो । अध्ययनले ठूलोचौर पनि अनुपयुक्त देखाएपछि सरकारले राजधानी नजिकै आन्तरिक विमानस्थल निर्माण गर्ने भनेर सुरु गरेको योजना सफल नहुने भएको छ ।

संयोजक श्रेष्ठका अनुसार सो स्थानमा एक हजार १५४ मिटर लामो धावनमार्गमात्र बन्न सक्ने देखिएको छ । जसमा हेलिकोप्टर, ट्वीनअटर र डोनिर्एयर जहाजमात्र उडान तथा अवतरण गर्न सक्छन् । हाल आन्तरिक उडानमा रहेका एटिआर र विचक्राफ्ट जहाज सो स्थानमा अवतरण तथा उडान गर्न सक्दैनन्, यी जहाज उडान र अवतरणका लागि एक हजार आठ मिटरको धावन मार्गको आवश्यकता पर्दछ ।

बुद्ध, यतिलगायतका एयरलाइन्सले प्रयोगमा ल्याएका एटिआर र विचक्राफ्ट जहाज अरु जहाजका तुलनामा ठूला मानिन्छन् । ती जहाज विराटनगर, भद्रपुर, नेपालगन्जलगायतका स्थानमा उडान गर्दै आएका छन् । समितिले गरेको अध्ययनमा विमानस्थल निमाण गर्दा स्थानीय ८० घरपरिवार विस्थापित हुने तथा पहाड काट्नुपर्ने देखिएको छ । सो स्थानमा आन्तरिक उडानमा रहेका सबै प्रकारका जहाज पनि जान नसक्ने र निर्माण लागतसमेत उच्च हुने देखिएकाले विमानस्थल निर्माणको सम्भावना नदेखिएको हो ।

रासस

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।