मुख्य समाचार समाज

कोरोना निको भएर ६ दिनमै डिस्चार्ज भइन् भक्तपुरकी वडा सदस्य

कोरोनाको सङ्क्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि छ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छन्।

यही जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब सङ्कलनपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ९ गते राति आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि उनलाई १० गते बिहान उपचारका लागि ललितपुरको पाटन अस्पतालको कोभिड आईसीयू ब्लकमा भर्ना गरी उपचार गरिएको थियो।

अस्पतालमा १४ र १५ गते पुनः भएको कोरोना परीक्षणको रिपोर्टमा नेगेटिभ आएर कोरोनामुक्त भएपछि उनलाई बिहीबार साँझ डिस्चार्ज गरेपछि भक्तपुरको च्यामासिंस्थित घर फर्किएकी हुन्।

वडा महिला सदस्यलाई कोरोना पुष्टि भएपछि भक्तपुर नगरले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीलगायत १६८ जनाको पिसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको थियो।

कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको महिला जनप्रनिधिको बस्ती यसअघि नै सिल हटाइसकिएको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।