स्वास्थ्य

आजबाट धुलिखेल अस्पतालमा सातामा दुई दिन कोरोना परीक्षण

काभ्रे,

धुलिखेल अस्पतालमा आजदेखि कोरोना भाइरस सङ्क्रमणसम्बन्धी परीक्षण सेवा शुरु गरिएको छ । पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ ।

सङ्क्रमणको अवस्था अनुकूल परीक्षणको अवधि थपिने अस्पतालका चिकित्सक डा राजेन्द्र कोजूले बताए । “पर्याप्त पिपीइ परीक्षण किटलगायतका परीक्षण सामग्री व्यवस्थापन गर्दै जाने भएकाले हाललाई हप्ताको दुई दिनमात्रै परीक्षणको समयावधि तोकिएको हो”, उनले भने ।

उनका अनुसार अस्पतालमा आजबाट कोरोना सङ्क्रमण परीक्षणको तयारी पूरा भइसकेको छ ।

वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमण परीक्षण तथा उपचारका लागि अस्पताललाई धुलिखेल नगरपालिकामार्फत २० लाख उपलब्ध गराएको थियो ।

प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले उक्त रकम नगरपालिकाको खातामा पठाइसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए । झाका अनुसार धुलिखेल अस्पतामा कोरोना सङ्क्रमणको परीक्षण शुरु भएपछि छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा भक्तपुरका केही नागरिकलाई सहज हुनेछ ।

यसअघि राजधानी तथा आसपासका जिल्लाका नागरिकको काठमाडौँको टेकूस्थित शुक्रराज सरुवा रोग अस्पतालमा परीक्षण गरिँदै आइएको थियो । रासस

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।