मुख्य समाचार राजनीति

संविधान संशोधनमा अनुपस्थित सांसद को-को हुन्?

शनिबार संघीय संसदको प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पारित भएको छ। नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अध्यावधिक नक्सालाई निशान छापमा राख्न गरिएको संविधान संशोधन प्रस्तावमा प्रतिनिधिसभाका २५८ सांसदले पक्षमा मतदान गरी पारित गरिएको हो।

बैठकमा उपस्थित शत प्रतिशत (कुल २५८) सांसदले नै प्रस्तावको पक्षमा मतदान गरेका छन् भने जम्मा २७५ मध्ये १७ जना सांसद बैठकमा उपस्थित भएनन् वा मतदान गरेनन्।
१७ मध्ये शनिबार मत दिन पाउने अवसर हुँदाहुँदै पनि १२ जना सांसद अनुपस्थित रहे भने चार जना निलम्बित अवस्थामा छन्।

मतदान नगर्नेमा एकजना सभामुख अग्निप्रसाद सापकोटा हुन्। उनले सांसद सदस्यका रुपमा मतदान गर्न पाउँदैनन्।

बैठकमा अनुपस्थित भएकामध्ये चारजना सांसद निलम्बित छन्। उनीहरु बैठकमा आउन पाउँदैनन्। जसमा विजयकुमार गच्छदार, मो. आफताव आलम, हरिनारायण रौनियार र रेशम चौधरी छन्। गच्छदार र रौनियार भ्रष्टाचार मुद्दाका कारण निलम्बित भएका हुन् भने आलम र चौधरी व्यक्ति हत्याको अभियोगमा निलम्बित भएका हुन्।

नेपालको वास्तविक भूमि समावेश गरेर सरकारले सदनमा प्रस्तुत गरेको संविधान संशोधन विधेयकमाथि मतदान गर्न १२ जना सांसद अनुपस्थित भएका छन्। ससद सचिवालयका अनुसार अनुपस्थित सांसदहरुमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद शाह, शिवकुमार मण्डल, सरिता गिरी, सूर्यनारायण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल, ज्ञानकुमारी छन्त्याल रहेका छन्।

संशोधन विधेयकको पक्षमा संसदका ९३.८१ प्रतिशत सांसदले मत दिएका छन्। प्रतिनिधिसभाले पारित गरेको विधेयक आइतबार राष्ट्रियसभामा प्रस्तुत हुँदैछ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।