समाचार सुचना प्रविधि

अझै सञ्चालनको पर्खाइमा आईटीपार्क

नगेन्द्र अधिकारी
काभ्रे, १४ माघ

राज्यको ठूलो लगानीमा बनेको काभ्रेस्थित सूचना–प्रविधि पार्क अझै सञ्चालनमा आएको छैन । विभिन्न समयमा सञ्चालनको प्रयास भए पनि ती प्रयास प्रयासमा मात्रै सीमित रहँदा पार्क अहिले पनि सञ्चालनको पर्खाइमा छ ।

वि. सं. २०५७ मा २५७ रोपनी जग्गा खरिद गरी भवनहरू निर्माण गरिएको यो पार्क कुल ३० करोडको लगानीमा पहिलो चरणको पूर्वाधार निर्माण सम्पन्न भएको थियो । सरकारकोे ठूलो लगानीमा बनेको योे आईटी पार्क सञ्चालन भएपछि नेपाल सरकारलाई आर्थिक रूपमा समेत टेवा पुग्न सक्ने अनुमान गरिएको थियो, तर हालसम्म पार्क सञ्चालनमा आउन सकेको छैन ।

वि.सं. २०६३ मा नेदरल्यान्डको जाभ्रा नामक कम्पनीले ६ महिना काम सञ्चालन पनि गरेको थियो । इन्टरनेटको समस्या र काठमाडांैदेखि काभ्रेको आईटी पार्कसम्म पुग्ने सडक व्यवस्थित नभएको भन्दै कम्पनीले पार्क छोड्यो । पछि २०६५ आईटीसम्बन्धी काम गर्नका लागि अमेरिकन कम्पनी आईबीएमले पार्कमा काम पनि थाल्यो । तत्कालीन प्रधानमन्त्री प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटनसमेत गरेका थिए । उद्घाटनका क्रममा प्रधानमन्त्री नेपालले विभिन्न राजनीतिक अस्थिरता, नितिगत तथा समन्वयको समस्या, व्यवस्थित इन्टरनेट सेवाको अभाव, दक्ष जनशक्ति तथा साधन–स्रोतको अभावका कारण पनि उक्त आईटी पार्क सञ्चालनमा ढिला भएको बताउँदै अब नियमित सञ्चालनका लागि सरकारले सम्पूर्ण तयारी पूरा गरिसकेको जानकारीसमेत दिएका थिए ।

तत्कालीन सूचना–प्रविधि उच्चस्तरीय आयोगका अध्यक्षसमेत रहेका नेपालले यसका लागि जे–जस्तो सहयोग जुटाउन पनि सरकार पछि नहट्ने दृढता व्यक्तसमेत गरेका थिए, तर पार्क स्थायी रूपमा सञ्चालनमा आउन सकेन । हालसम्म पनि पार्क सञ्चालनमा आउन सकेको छैन । सूचना प्रविधिसम्बन्धी कार्य गर्न स्थापना भएको पार्क लगभग ‘भूत बंगला’ मा परिणत हुने अवस्थामा छ । केही सुरक्षा कर्मचारीबाहेक कोहीको उपस्थिति पार्कमा छैन । एकपटकमा सूचना–प्रविधि क्षेत्रका १ सय ४४ जना इन्जिनियरलाई रोजगारी दिन सक्ने पार्क सञ्चालनमा नआउँदा जनशक्ति बिदेसिरहेको अवस्था छ । “आईटी पार्क त अहिले भूतबंगलाका रूपमा परिणत हुने अवस्थामा पुगेको छ, विडम्बना सरकारले यसलाई सञ्चालन गर्न सकेको छैन, धेरैले स्वदेशमै रोजगार पाउँथे, त्यो पनि गुमिरहेको छ,” क्यान, काभ्रेका महासचिव राजकुमार आचार्यले भने ।

भवनहरू पनि प्रयोगमा नआउँदा चर्किने अवस्थामा पुगेका छन् भने धेरै पूर्वाधार बिग्रने अवस्थामा छन् । कतिपय कोठामा त माकुराको जालो समेत देख्न पाइन्छ । “प्रत्येक फोरममा हामीले आईटी पार्क सञ्चालनका लागि कुरा उठाउने गरेका छौं, विज्ञान तथा प्रविधिमन्त्रीहरूले तुरुन्तै सञ्चालन गर्ने आश्वासन पनि दिनुहुन्छ, तर आश्वासन आश्वासनमै सीमित छ, कसैले सञ्चालन गर्न सकेन,” क्यान, काभ्रेका अध्यक्ष निरञ्जन मानन्धरले भने, “नेपालको एक मात्र सूचना–प्रविधि पार्क सञ्चालन हुन नसक्नु विडम्बनाको कुरा हो” ।

निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि सञ्चालनमा नआएको आईटी पार्क पछिल्लो समयमा त झन् अन्योलमा परेको छ । सूचना–प्रविधि उच्चस्तरीय आयोगको मातहतमा रहेको पार्क आयोग नै विघटनसँगै अन्योलमा परेको हो । अहिले पार्कलाई विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको सूचना–प्रविधि महाशाखाभित्र सीमित बनाएपछि त यो सरकारका लागि पनि बेवास्ताको सिकार बनेको छ । “आईटी पार्क आमाबिनाको बच्चाजस्तै भएको छ ।” क्यान, काभ्रेका पूर्वअध्यक्ष शेखरनाथ दुलाल थप्छन्, “पहिले आईटी पार्क सञ्चालनका लागि आयोग नै हुँदा त राम्ररी सञ्चालन हुन सकेको थिएन भने अब त मन्त्रालयको एउटा महाशाखाले कसरी सञ्चालन गर्न सक्ला र !” एडभान्स कम्प्युटरका प्रोपाइटरसमेत रहेका दुलाल सरकारको करोडौँ रुपैयाँ नडुबाउनका लागि निजी क्षेत्र वा प्रतिष्ठान बनाएर सञ्चालन गर्नुपर्ने बताउँछन् । सरकारले सूचना–प्रविधि क्षेत्रबारे बेवास्ता गर्दा करोडौंको लगानी बालुवामा पानी हुने अवस्थामा पुगेको छ ।

करिब ३० करोडभन्दा बढी खर्च भए पनि यहाँ पछिल्लो समयमा आईटीको सफ्टवेयर, हार्डवेयर उत्पादन हुँदैन, बरु राजनीतिक दल र सामाजिक संघसंस्थाको कार्यक्रम गर्ने थलो बनेको छ । पार्कमा २०६७ सालमा काभ्रे उद्योग वाणिज्य संघले मध्यमाञ्चल महोत्सव गरेको थियो भने नेपाली कांग्रेसको जिल्ला सम्मेलन पनि यही भएको थियो । क्षेत्री समाज, नेपाल पत्रकार महासंघलगायतका संघसंस्थाले पनि यही कार्यक्रम गरेका थिए । राजनीति दल र सामाजिक संघसंस्थाले कार्यक्रम गर्न थालेपछि कतिपयले विवाहको पार्टीका लागिसमेत उक्त आईटी पार्क माग्न थालेका छन् । “हुँदाहुँदा विवाह गर्नका लागि आईटी पार्क दिनुपयो भनेर पनि आउन थालेका छन्, कतिपयलाई त मैले धेरै पटक फर्काएको छु, आईटी पार्कमा अहिले आईटीभन्दा अरू काम बढी हुन थालेका छन्,” आईटी पार्कका एक कर्मचारीले भने ।

आईटी पार्कमा व्यापारिक, प्रशासकीय भवन, आवासीय भवनसमेत निर्माण भएका छन् । पार्कभित्र विद्युत् अप्टिकल फाइवर आदिको सुविधा पनि छ । पहिलो चरणको कार्य पूरा भए पनि सञ्चालनमा नआउँदा दोस्रो चरणमा पार्कभित्रै बैंक, स्कुल, पौडीपोखरीलगायतका अत्याधुनिक पूर्वाधार बनाउने योजना अलपत्र परेको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।