सुचना प्रविधि

आइटी पार्कमा नेपाली दुई कम्पनीको प्रस्ताव

सुचना प्रविधिको क्षेत्रमा काम गर्न बनेपामा रहेको सुचना प्रविधि (आइटी) पार्कमा काम गर्ने भनि अहिले दुई नेपाली कम्पनीले प्रस्ताव गरेको छ । प्रस्ताव गरेका कम्पनीहरुको नाम भने उच्चस्तरीय सुचना प्रविधि आयोगले बताउन चाहेको छैन । आयोगका सदस्य सचिव जुद्धबहादुर गुरुङले आइटी पार्क पहिलेभन्दा बढी सुविधासम्पन्न भएकोले केही कम्पनीहरुले चासो देखाएको जानकारी दिनुभयो । अहिले आइटी पार्कमा अप्टिकल फाइबर कनेक्सन भएको हुँदा द्रुत गतिमा इन्टरनेट चलाउन सकिने व्यवस्था रहेको छ ।

राजधानिबाट ३० किलोमिटर टाढा रहेको आइटी पार्क ८ वर्षअघि ३० करोड रुपैँया लागतमा बनेको हो । २ सय ३४ रोपनी जग्गामा फैलिएको यो पार्कमा अहिले ३ अर्ब बराबरको भौतिक पुर्वाधार रहेको बताइएको छ ।

विदेशी कम्पनीहरुले समेत आइटी पार्कमा काम गर्ने इच्छा देखाएपनि लोडसेडिङ, ब्रोडब्यान्ड तथा राजनीतिक अवस्थाले कम्पनीहरु रहन नसकेको सदस्य सचिव गुरुङको भनाइ छ । २४ सै घण्टा बत्तीको लागि श्रम मन्त्रालयमा पहल गरिरहेको उहाँले बताउनुभयो ।

राजधानीबाट केही टाढा हुनुले पनि कम्पनीहरुले चासो नदेखाएको उहाँको भनाइ थियो । तिनकुने देखि सुर्यविनायक ६ लेनको बाटो निमार्ण भइसकेपछि यसमा अहिले समस्या नभएको उहाँले बताउनुभयो। उहाँले आइटी पार्कमा सञ्चालन हुने कम्पनीलाई कर्पोरेट कर छुट नहुनुले पनि लगानिकर्ताहरु नआएको बताउनुभयो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।