सुचना प्रविधि

आइटी पार्क साँच्चिकै चल्ने हो ?

लामो समयदेखि बन्द झैं देखिने सुनसान् आइटी पार्क अब चल्ने भएको छ । सरकारले सूचना प्रविधि विभाग र वातावरण विभागलाई पार्कमा स्थानान्तरण गर्ने निर्णयपछि यहाँ चहलपहल सुरु हुन थालेको हो । पार्कको व्यवस्थापन गर्दै आएको सूचना प्रविधि उच्चस्तरीय आयोगलाई अघिल्लो वर्ष खारेज गरिएपछि पार्कलाई कसले चलाउने भन्नेमा सरकारी निकायहरुवीच नै अन्यौलता रहँदै आएको थियो । एकजना सब–इन्जिनियरको भरमा हालसम्म पार्कलाई कुर्नेबाहेक त्यहाँ केही गतिविधिहरु हुन सकेको थिएन ।

सिंहदरबारस्थित वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयमा रहेका दुबै विभागहरु उपत्यकाबाहिर आउन लागेको पहिलो पटक हो । सूचना प्रविधि विभागलाई पार्कको बिजिनेस ब्लकमा र वातावरण विभागलाई प्रशासनिक ब्लकमा राखिने स्रोतले जनायो । दुवै विभागहरु काभ्रेमा स्थानान्तरण गर्ने निर्णय गरिए पनि यहाँका समुदाय र राजनीतिकतहबाट पहल नहुँदासम्म यसै भन्न नसकिने एक प्रशासकले बताए, "काभ्रेमा केन्द्रीयस्तरका दुई महत्वपूर्ण विभागहरु आउन लागेको छ । काभ्रेलीहरुले यसमा सक्रियता देखाएर विभागीय मन्त्रीलाई ताकेता नगर्दासम्म यसै भन्न सकिन्न", ती प्रशासकले सुझाव दिए ।

यसअघि खुल्ला विश्वविद्यालयको स्थापनाका लागि शिक्षा मन्त्रालयले पार्कभित्रका सबै संरचनाहरु उपलब्ध गराइदिन आग्रह गरेको थियो । यद्यपि हालैको मन्त्रीपरिषद बैठकले पार्कका संरचनाहरु दुई विभागहरुलाई उपलब्ध गराएर शिक्षा मन्त्रालयलाई पार्क भित्रको केही जग्गाहरु उपलब्ध गराइदिने निर्णय गरेको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।