मुख्य समाचार राजनीति

संविधान संशोधन प्रतिनिधि सभामा पेश

कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबारको प्रतिनिधि सभा बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश गरेकी छिन्। सो संशोधन विधेयकमा कुनैपनि विरोधको सूचना परेको थिएन।

विरोध सूचना नभए पछि सभामुख अग्नि सापकोटाले कानुनमन्त्री तुम्बाहाङ्फेलाई संशोधन विधेयक पेश गर्न अनुमति दिएका थिए।

लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो ।

विधेयक प्रतिनिधि सभामा पेश भएसँगै अब सार्वजनिक जानकारीका लागि राजपत्रमा प्रकाशित हुनेछ।

मन्त्रिपरिषद बैठकले जेठ ५ गते लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सा पारित गरेको थियो र जेठ ७ गते अध्यावधिक नक्सा सार्वजनिक गरेको थियो।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदिय दललाई निर्देशन दिएसंगै यो प्रस्ताब पारित हुने वातवरण बनेको हो।

समयावधी
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उक्त संशोधन पक्षमा मतदान गर्ने निर्णय गरेसँगै दुई तिहाइ पुग्ने पनि निश्चित छ। दर्ता भएको विधेयक परिपक्व हुन पाँच दिन लाग्ने छ। सैद्धान्तिक छलफलपछि तीन दिन थप संशोधनका लागि समय दिनुपर्ने हुन्छ। संशोधन परेमा सचिवालयले केही काम गर्नुपर्ने हुन्छ। सबै प्रक्रिया हेर्दा कम्तीमा तीन हप्ता लाग्छ।

संसद सचिवालयका अनुसार संसद् बैठकमा प्रस्तुत भइसकेपछि राजपत्र र गोरखापत्रमा प्रकाशित गर्ने प्रावधान छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।