राजनीति

अर्जुन लामा हत्या प्रकरण : अभियुक्तसँगै हुन्छ प्रहरी, अनि भन्छ, ‘अभियुक्त फरार छन्’

arjun-lama-kavreराजनीतिक दबाबका कारण काभ्रे दाप्चाका अर्जुन लामाको हत्याका आरोपी पक्राउ गर्न प्रहरी असफल भएको छ। लामाको हत्याका आरोपीहरु अझै फरार रहेको प्रहरीले दाबी गरेको छ। सर्वाेच्च र जिल्ला अदालतले समेत लामाको हत्यामा संलग्न ब्यक्तिहरु पक्राउ गरी कारवाही गर्न निर्देशन दिए पनि अभियुक्तहरुलाई प्रहरीले सँगै हुँदा पनि पक्राउ गर्न नसकेको हो।

एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटा, सुर्यमान दोङ, भोला अर्याल, यादव पौड्याल, मेच्छेका नोर्वु लामा लगायतविरुद्ध लामाको हत्या अभियोगमा जिल्ला अदालत काभ्रेमा मुद्दा दर्ता भएको थियो। तर, प्रहरीले राजनीतिक दबाबमा आरोपीहरुलाई पक्राउ नगरे पनि लामाकी श्रीमती पुर्णिमाया लामाले न्यायका लागि निरन्तर लागिरहने बताएकी छन्। दैलेखमा पत्रका डेकन्द्र थापाका हत्यारालाई कारवाही गर्न प्रहरीले सक्रियता देखाएपछि पुर्णिमायाले न्यायको आश गरेको बताइन्।

लामाको हत्यामा संलग्न भनिएका माओवादीका सबै कार्यकर्ता सबै फरारको सुचिमा प्रहरीले राखेको छ। तर, दैनिक जसो माओवादी नेता तथा कार्यकर्ताहरु प्रहरी कार्यालय जाने आउने गरिरहेको श्रोतले जानकारी दिएको छ। पुर्णिमायाले आरोपीहरुलाई पक्राउ गरेर कारवाही सुरु नभए पुनः सर्वाेच्च जाने बताएकी छन्। लामाको गाउँकै विद्यालयमा कार्यक्रम भइरहेको बेला माओवादीले अपहरण गरी २०६२ सालमा हत्या गरेका थिए। उनको हत्या काभ्रेको विकट बुढाखानी गाविसमा भएको बताइएको छ।

कसरी मारिए लामा?

तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा उनलाई सहयोग गर्न भन्दै ज्ञानेन्द्रका नातेदार नीक्षशमसेर राणाले राष्ट्रिय एकता परिषद् नामको पार्टी खोलेका थिए र पार्टीका केन्द्रीय सदस्य थिए, काभ्रेको छत्रेबास गाविस-५ का अर्जुन लामा। छत्रे गाविसको दाप्चास्थित कृष्ण माध्यमिक विद्यालयको सञ्चालक समिति अध्यक्ष निर्वाचित भएपछि उनी काठमाडौँबाट गाउँ पुगे। त्यहीबेला उनको अपहरण र त्यसपछि हत्या भएको थियो। त्यसको आरोप तत्कालीन माओवादी ब्युरो इन्चार्ज अग्नि सापकोटामाथि लाग्दै आएको छ।

माओवादीले भने घटनाको जिम्मेवारी लिन इन्कार गररिहेको छ। काभ्रेकै घर्तीछाप भन्ने ठाउँमा सरकारी सेनाको मोर्टार आक्रमणमा परी लामाको मृत्यु भएको माओवादी दाबी छ। तर, २१ असार ०६४ मा मृतक लामाकी श्रीमती पूणिर्मायाले सापकोटा नेतृत्वको माओवादी समूहले नै आपना पतिको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय, काभ्रेमा किटानी जाहेरी दिएकी थिइन्। त्यसबेला प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन। मानव अधिकारकर्मीको दबाबमा २७ साउन ०६५ मा काभ्रे प्रहरीले कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो । तर, अभियुक्तहरू फरार रहेको भन्दै प्रहरीले कसैलाई पक्रने आँट गरेन।

यस घटनामा राष्ट्रिय मानव अधिकार आयोगले पनि दोषीहरूको पहिचान गरी कारबाही चलाउनुपर्ने निर्णय गरेको थियो। आयोगको एउटा टोलीले लामाको हत्यासम्बन्धी घटनाको लामै अनुसन्धान गरेको थियो। सर्वोच्च अदालतले पनि घटनाको अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाउन आदेश दिएको थियो। तर, अहिलेसम्म अनुसन्धान प्रक्रिया अघि बढ्न सकेको छैन।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।