अपराध समाज

मृर्गौला तस्करहरुलाई प्रहरीले सार्वजनिक गर्यो

२२ वर्र्षदेखि काभ्रेपलाञ्चोक जिल्लाको होक्सेबजार गाविसका लगाएत आसपासका मृगौला तस्करी नियन्त्रणमा काभ्रे प्रहरीले अहिलेसम्मकै ठूलो सफलता हात पारेको छ । लामो समयदेखि अवैध रुपमा मृगौलाको तस्करी हुँदै आएको होक्सेमा सक्रिय गिरोहलाइ प्रहरीले नियन्त्रणमा लिएको हो । मृगौला तस्करका नाइके प्रेमप्रसाद बजगाईलाई प्रहरीले नियन्त्रणमा लिएपछि एक महिनाको अबधिमा अन्य नौजना व्यक्ति विभिन्न स्थानबाट पक्राउ परेका छन् । मृगौला तस्करी विरुद्ध अभियानमा लागेका महिला अधिकारकर्मी, शिक्षक र विशेष प्रहरी टिमको सक्रियतामा ती अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको पत्रकार सम्मेलनमा काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कमलबहादुर घर्तीले बताउनुभयो । बैंक अफ किड्नीको उपमा पाएको काभ्रेको होक्से वरपरको मृगौला तस्करीलाई आफूले पनि पहिलो प्राथमिकतामा राखेको र प्रहरी टिमले पनि रात बिहान दिउँसो नभनी काम गरेकोले अहिले प्रहरीले यो सफलता हात पारेको प्रहरी उपरीक्षक घर्तिको भनाइ थियो ।

kidney-crime

प्रहरीको सक्रियता, खोजललास, सुराकी एवं विभिन्न व्यक्तिको सहयोगमा काभ्रे, नुवाकोट, ललितपुर, काठमाडौं लगायतका जिल्लाबाट ती अभियुक्तहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो । पक्राउ पर्नेमा काभ्रेको होक्से–१ का प्रेमबहादुर बजगाई, पनौती–९ का मनोज राउत, नुवाकोट जिल्ला मदानपुर गाविस–१ की मिना दर्जी उर्फ पुना ठकुरी, सोहि वडाका कृष्णबहादुर दर्जी रहेका छन् । त्यस्तै ललितपुर उपमहानगरपालिका–२१ का सचिन महर्जन, ललितपुर–११ का सानुलाल महर्जन, तनहुँ मिर्लुङ्ग –३ का कुमार अधिकारी, काभ्रे गाविस–४ का सुमन श्रेष्ठ रहेका छन् । त्यस्तै काठमाडौं–८ का विनोद ढकाल र पाँचखाल–६ का राजन दर्जी रहेका छन् । पक्राउ परेका अभियुक्तहरु मध्ये बजगाईलाई गत बैशाख २५ गते पुर्पक्षका लागि थुनामा राखिएको थियो । काभ्रे पनौती–९ का मनोज राउत ३५ हजार धरौटीसहित तारेखमा छुटेका छन् । त्यस्तै ललितपुरका अभियुक्त सचिन महर्जन पाटनका पूर्व स्ववियु उपसभापति समेत रहेको अनुसन्धानबाट खुल्न आएको छ ।

अर्का तनहुँ मिर्लुङ्ग ३ का अभियुक्त कुमार अधिकारी विभिन्न संस्थाका नक्कली प्रमाणपत्र, छाप बनाउने काममा पनि संलग्न रहेको खुल्न आएको छ । उनको साथबाट नक्कली छाप, प्रमाणपत्र र १ थान कम्प्युटर पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेको सबै अभियुक्तहरुलाई मानव बेचविखन तथा ओसार पसार ऐन २०६४ अनुसार मुद्दा चलाइने प्रहरी उपरीक्षक घर्तीले बताउनुभयो ।

-
कुमार गौतम /तारा कार्की

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।