राजनीति

विपक्षीमाथि वाईसीएल आक्रमण

प्रधानमन्त्री बाबुराम भट्टराईको विरोधमा उत्रिएका विपक्षी दलका कार्यकर्तामाथि काभ्रेमा वाईसीएलका कार्यकर्ताले आक्रमण गरेका छन् । भट्टराई एमाओवादीको दोस्रो जिल्ला सम्मेलनमा बनेपा आउँदै गरेको खबर पाएपछि अरनिको राजमार्गस्थित तीनदोबाटोमा कालोझन्डा लिएर कांग्रेस-एमालेका कार्यकर्ताले शान्तिपूर्ण र्‍याली सुरु गरेलगत्तै उनीहरूमाथि ढुंगा हानेर आक्रमण गरिएको हो । रड, लाठीसहित आक्रमणमा उत्रेका वाईसीएल कार्यकर्तालाई रोक्न सुरक्षाकर्मीले कुनै चासो देखाएनन् ।

पत्रकार न्यौपानेको अवस्था गम्भीर
माओवादीको कुटाइबाट घाइते काभ्रेका पत्रकार कृष्ण न्यौपानेको अवस्था गम्भीर

आक्रमणपछि वाईसीएल र कांग्रेस-एमाले कार्यकर्ताबीच झडप भएको थियो । वाईसीएलले हानेको ढुंगा लागेर कांग्रेस महाधिवेशन प्रतिनिधि कुन्साङ लामा, इन्द्रेश्वर क्याम्पसका स्ववियु सभापति रूपक महत, कांग्रेस जिल्ला सदस्य मधुकर खनाल, एमालेका इन्द्र तामाङलगायत एक दर्जनभन्दा बढी घाइते भएका छन् । झडपमा वाईसीएल नेता नारायण फुयाल पनि घाइते भएका छन् । विपक्षी दलले विरोधको तयारी गरेपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र वाईसीएल कार्यकर्ता मंगलबार बिहानैदेखि अरनिको राजमार्गमा बाक्लो संख्यामा उपस्थित थिए । विपक्षी दलको शान्तिपूर्ण र्‍यालीमाथि ढुंगामुढा हुँदा पनि सडकमा खटिएका सुरक्षाकर्मीले नियन्त्रण गर्न कुनै सक्रियता देखाएनन् । वाईसीएल कार्यकर्ताको आक्रमणबाट ज्यान जोगाउन विपक्षी दलका स्थानीय नेता-कार्यकर्ता इलाका प्रहरी कार्यालय पुगेका थिए । वाईसीएल कार्यकर्ताले उनीहरूलाई खोज्दै चौकीमा समेत पसेर आक्रमण गरेका थिए । 'इलाका प्रहरी कार्यालय बनेपामै आएर आक्रमण गर्दासमेत सुरक्षाकर्मी मूकदर्शक मात्रै बनिरह्यो,' प्रदर्शनको नेतृत्व गरेका कांग्रेसका जिल्ला सभापति शिव हुमागाईंले भने, 'मादक पदार्थ खाएका वाईसीएलले लाठीसहित प्रहरी प्रशासनकै संरक्षणमा हाम्रो शान्तिपूर्ण र्‍यालीमा आक्रमण गरे ।' प्रदर्शनअघि नै तीनदोबाटो र टेलिकमअगाडि बसेको सुरक्षाकर्मी टोलीले वाईसीएलका कार्यकर्तालाई लाठी, ढुंगा बोकेर आउँदा रोक्ने सामान्य प्रयाससमेत गरेको थिएन । त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरी हतियारसहित दंगा नियन्त्रण पोसाकमा थिए । वाईसीएलले कांग्रेस-एमालेका कार्यकर्तालाई लुकाएको भन्दै बनेपाका केही घरमा समेत ढुंगा हानेका थिए । तोडफोड र आक्रमणमा संलग्न वाईसीएललाई प्रहरी कुनै कारबाहीसमेत गरेन । आक्रमण गरी सडकमा निस्केका कांग्रेस-एमाले कार्यकर्तालाई तितरबितर पारेपछि कडा सुरक्षाबीच एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराई र पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ जिल्ला सम्मेलनस्थल बनेपा बसपार्क छिरेका थिए । उनलाई जिल्लाको नाका साँगादेखि बनेपासम्मै ठूलो संख्यामा प्रहरी र वाईसीएलले सुरक्षा दिएका थिए । उनीहरूलाई वाईसीएल र प्रहरीले स्कर्टिङ गरेका थिए । सरकारविरुद्ध आन्दोलनरत कांग्रेस-एमालेका जिल्ला नेताले शुक्रबार सदरमुकाम धुलिखेलमा गरेको विरोधसभालाई सम्बोधन गर्दै भट्टराईलाई जिल्ला प्रवेशमा रोक लगाएको घोषण्ाा गरेका थिए । घोषणापछि विपक्षी दलले गर्ने विरोधको प्रतिवाद गर्न विभिन्न जिल्लाबाट ठूलो संख्यामा वाईसीएल कार्यकर्तालाई बनेपा उतारिएको थियो । विपक्षी दलले निकालेको विरोध र्‍यालीको हुमागाईं र एमालेका जिल्ला उपसचिव अशोक व्यन्जुले नेतृत्व गरेका थिए । 'आन्दोलनरत दलको संयुक्त बैठक बसेर बुधबार आन्दोलन अझै कडा बनाउँछौं,' कांग्रेस जिल्ला सभापति हुमागाईंले भने । शान्तिपूर्ण आन्दोलनलाई एमाओवादीले प्रहरी प्रशासन र वाईसीएल लगाएर विपक्षी दलका कार्यकर्ता माथि आक्रमण गरेको भन्दै एमाले जिल्ला उपसचिव व्यन्जुले त्यसको बदला लिएरै छोड्ने उद्घोष गरे । यसैबीच स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम गर्न नसकेको र सुरक्षाकर्मीकै अगाडि वाईसीएलले आक्रमण गर्दासमेत मौन बसेको भन्दै कांग्रेस-एमालेले प्रेस विज्ञप्तिमार्फत प्रशासन र एमाओवादीप्रति खेद व्यक्त गरेको छ ।

कांग्रेस-एमाले जंगल जाऊ

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले अब जंगल जाने पालो कांग्रेस-एमालेको भएको बताएका छन् । उनले कांग्रेस-एमालेले आफ्ना पार्टीका कार्यक्रममा ढुंगा हान्ने काम थालेकाले उनीहरू आतंककारी भएको आरोपसमेत लगाए । मंगलबार बनेपा बसपार्कमा आयोजित पार्टीको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै उनले अरूलाई जंगल जाऊ भन्नु भन्दा हिम्मत भए कांग्रेस-एमालेलाई नै जंगल जान चेतावनीसमेत दिए । 'हामी किन जंगल जाने ?' उनले भने, 'अब जंगल जाने पालो कांग्रेस-एमालेको हो । हिम्मत भए जंगल जाऊ ।' उनीहरू जंगल गए आफूहरू बाहिर बसेर उनीहरूको विद्रोह हेर्ने बताए । दस वर्षसम्म माओवादीले सत्ता चलाउने दाबी पनि उनले गरे । जनताको विश्वास एमाओवादीमै रहेको भन्दै उनले १० वर्षसम्म आफूहरू असफल भए मात्र कांग्रेस-एमालेको पालो आउने दाबी गरे । 'हामी सफल भयौं भने जनताको साथ लिएर वर्षौं सरकार चलाउँछौं,' उनले भने । माओवादीको विरोध गरेर दलहरूले आफ्नै खुट्टामा बञ्चरो हानेको भन्दै दाहालले अब कांग्रेस-एमालेको दिन गएको दाबी गरे । कांग्रेस-एमालेले ढुंगा हान्दा उनीहरूको लोकतन्त्र धुजाधुजा भएको उनको भनाइ थियो । विपक्षी दलको आन्दोलनले आफ्ना तीन नेतालाई एकै ठाउँमा ल्याएर पार्टीको एकतालाई मजबुद बनाएको उनले ठोकुवा गरे ।

प्रधानमन्त्रीले २०४७ सालपछि कांग्रेस-एमालेले एक्लै २२ वर्ष शासन चलाएकाले आफ्नो नेतृत्वको सरकारलाई औंला उठाउने अधिकार कसैलाई नभएको बताएका थिए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।