समाज

काभ्रेमा निर्माण हुने् मेलम्चीपछिको दोस्रो ठूलो खानेपानी आयोजनाका लागि ठेक्का सम्झौता

काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण कार्यको लागि आज ठेक्का सम्झौता सम्पन्न भएको छ । काभ्रेको बनेपा, धुलिखेल र पनौती नगरपालिकाहरुका जनताहरुका लागि गुणस्तरीय र निरन्तर रुपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले संचालित उक्त खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न गर्नको लागि ठेक्का सम्झौता भएको हो ।

६७ करोड ३३ लाख २६ हजार १ सय १० रुपैयाँ बराबरको ठेक्का सम्झौता आज बनेपामा सम्पन्न भएको आयोजनाले जनाएको छ । सम्झौता अनुसार यसै महिनादेखि काम सुरु भएर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने कार्य तालिका तयार गरिएको छ । कार्य सम्पादन सचिवालयका संयोजक अशोक व्याञ्जु र सदस्य प्रभुराम केसीको उपस्थितिमा भएको उक्त सम्झौतामा चिनीया निर्माण कम्पनी निङ्वो निङ्सिङ् इन्टरनेशनल इंकको तर्फबाट किरण बैद्यले हस्ताक्षर गरेका छन् । आयोजनाको तर्फबाट व्यवस्थापक कोषनाथ अधिकारी तथा बनेपा, धुलिखेल र पनौती नगरपालिका कार्यकारी अधिकृतहरु क्रमश सुरथ पोखरेल, सुदेव कुमार पोखरेल र गणेश नेपाली हस्ताक्षर गरेका छन् ।

नेपाल सरकारले पहिलो प्राथमिकतामा राखेको उक्त आयोजनालाई सफल पार्नको लागि स्थानीय तहका जनताको सहयोग प्राप्त गर्न र जनताहरुबाट लागत सहभागिता जुटाउन एवं खानेपानी महशुल तिर्ने सम्बन्धमा तीनवटै नगरपालिकाको वडा भेलाहरुमा व्यापक छलफलमा ल्याइएको छ । हालसम्म सम्पन्न भएका वडा भेलाबाट आयोजना सफल पार्नको लागि स्थानीय जनताहरुबाट उत्साहका साथ प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।