खेलकुद मुख्य समाचार

नेपाल टी-२० लिग विवाद बुझ्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद्‌का प्रतिनिधि नेपालमा

नेपाल टी–२० लिग क्रिकेटमा देखिएको विवादबारे बुझ्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का प्रतिनिधि नेपाल आएका छन्। आइसिसी प्रतिनिधिले विवादबारे बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङसँग छलफल गरेको छ।

आइसिसी एन्टी करप्सन युनिट (एसीयू)का सिनियर इन्टिग्रिटी अफिसर एन्ड्रयू इफग्रेभको नेतृत्वमा दुई सदस्यीय टोली बिहीबार नेपाल आएको हो। आइसिसी टोलीले बिहीबार नै त्रिवि मैदान कीर्तिपुर पुगेर टी–२० लिगको आयोजक, एन्टी करप्सन युनिट, रेफ्री, खेलाडीसँग पनि भेटघाट गरेको थियो। जारी प्रतियोगितामा खेल मिलेमतो र स्पट फिक्सिङको गतिविधि भएको आशंकापछि आइसिसिले दुई सदस्यीय टोलीलाई नेपाल पठाएको हो।

पछिल्लो समय नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा म्याच फिक्सिङ र स्पट फिक्सिङको गतिविधि भइरहेको चर्चा चलेको छ। यस बिषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समेत छानबिन गरिरहेको छ।

राखेपले पनि घटनाबारे छानबिन गर्न बोर्ड सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। राखेपले कार्यदललाई सत्य तथ्य छानविन गरि १५ दिनभित्र परिषद समक्ष प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। छानबिन समिति बनाएको जानकारी गराएपछि आइसिसि प्रनिनिधि सहयोग गर्न तयार रहेको राखेप स्रोतले जानकारी दियो।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले भने खेल मिलेमतोको विषय केवल हल्लामात्र भएको जनाएको छ। क्यानले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै लिग जारी रहने पनि स्पष्ट पारेको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।