पर्यटन

विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको सूचीमा काठमाडौं

राजधानी काठमाडौं विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सफल भएको छ। विश्वप्रसिद्ध ट्राभल अनलाइन ट्रिप एडभाइजरले मंगलबार सार्वजनिक गरेको २०१५ को प्रतिवेदनमा काठमाडौं विश्वका २५ उत्कृष्ट गन्तव्यमध्ये १९ औं नम्बरमा परेको छ।

बढ्दो घना बस्तीले प्राचीन स्मारक र मठमन्दिर छेकिएको भएतापनि काठमाडौं विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा पर्न सफल भएको हो। विश्वभर भ्रमण गरेका पर्यटकको समीक्षाका आधारमा ट्रिप एडभाइजरले प्रत्येक वर्ष उत्कृष्ट गन्तव्य सार्वजनिक गर्दछ। विश्वका लाखौं पर्यटकले काठमाडौंलाई उत्कृष्ट गन्तव्यकारूपमा भ्रमणका लागि सिफारिस पनि गरेका छन्। ट्रिप एडभाइजरका अनुसार काठमाडौं ऐतिहासिक, धार्मिक तथा सांस्कृतिकलगायत विभिन्न पक्षबाट पनि अग्रस्थानमा रहेको पर्यटकले बताएका छन्।

पर्यटकले काठमाडौंलाई ऐतिहासिक स्थल, पुराना मठमन्दिर, कला संस्कृतिले भरिपूर्ण र चारैतिरबाट अग्ला डाँडाले घेरिएको सुन्दर उपत्यकाको रूपमा वर्णन गरेका छन्।

पर्यटकका अनुसार विश्वसम्पदा सूचीमा परेका स्थानको भ्रमण, स्थानीय बजारमा पैदल यात्रा तथा नजिकका डाँडाबाट सूर्याेदय र सूर्यास्त हेर्न पाउनु काठमाडौंको विशेषता हो।

स्वयम्भु, पशुपति, बौद्धनाथ, पाटन दरबार, भक्तपुर दरबार, बसन्तपुरलगायतका विश्व सम्पदा सूचीमा परेको स्थानमा पदयात्रा निकै रोमाञ्चक हुने पर्यटकको भनाइ रहेको ट्रिप एडभाइजरले उल्लेख गरेको छ।

उपत्यकाको हस्तकला विश्वमै उत्कृष्ट भए पनि हाल नयाँ पुस्तका युवा जनशक्ति अन्य पेसातर्फ पलायन हुने क्रम बढेको छ। तर, पर्यटकले काठमाडौं उपत्यकाको हस्तकला र मूर्तिकलाको बारेमा पनि बर्णन गरेका छन्।

यस्तै, काठमाडौं वातावरणीय हिसाबले पनि पर्यटकमैत्री उपत्यका रहेको बर्णन गरिएको छ। 'न चिसो, न तातो काठमाडौंको मौसम विश्वका विरलै सहरमा पाइएला,' ट्रिप एडभाइजरले लेखेको छ।

काठमाडौं वरिपरिका क्षेत्रमा ट्रेकिङ, साइट सिइङ, क्यानोनिङ, रक क्लाइम्बिङ, माउन्टेन फ्लाइट, प्याराग्लाइडिङ लगायतका पर्यटकीय गतिविधिमा रमाउन पाइने ट्रिप एडभाइजरले उल्लेख गरेको छ।

ट्रिप एडभाइजरको सूचीले काठमाडौंलाई विश्वकै एक उत्कृष्ट पर्यटकीय केन्द्र भएको मात्र पुष्टी गरेको छैन भ्रमण गर्न पनि सल्लाह पनि दिएको छ। विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य मोरक्कोको सहर मराकेस रहेको ट्रिप एडभाइजरले जनाएको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।