मौसम

अ्म्फान चक्रवात प्रभाव : हल्कादेखि मध्यम वर्षाको सम्भावना

अ्म्फान चक्रवातको उपग्रहबाट लिइएको दृश्य, जेष्ठ ६, २०७७ श्रोत: Weathernerds.org

अ्म्फान चक्रवातको प्रभावले आज देशभर बदली रही काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बङ्गालको खाडीमा बनेको चक्रवात जमीनमा प्रवेश गरिसकेकाले यसको प्रभाव अझै दुई दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चक्रवात अ्म्फानको अप्रत्क्ष प्रभावले आज देशको पूर्वी भूभागमा पूर्ण बदली रही केही स्थान र पश्चिमी तथा मध्यका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए।

चक्रवात पश्चिम बङ्गाल र बङ्गलादेशको तटीय क्षेत्र पार गरी लगाातार उत्तरपूर्वतर्फ अगाडि बढिरहेको छ। त्यसपछि यो चक्रवात क्रमशः कमजोर बन्दै उत्तर–पूर्वी दिशातर्फ मोडिने सम्भावना रहेको जनाइए छ।

मौसमविद्का अनुसार चक्रवातको प्रत्यक्ष प्रभाव नरहे पनि यसको अप्रत्यक्ष प्रभावबाट देशको खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थान प्रभावित भई आगामी दुई दिनसम्म केही स्थानमा वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने तथा पूर्व र मध्यक्षेत्रमा खोलानालामा जलप्रवाहमा बढोत्तरी हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

राति देशको पूर्वी भूभागमा पूर्ण बदली रही बाँकी भूभाग बदली भई पूर्वी भूभागका केही स्थान र मध्य भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ। देशको पूर्वी भूभाग तथा मध्य पहाडी भूभागमा शुक्रबार सामान्य बदली रही पूर्वी भूभागका केही स्थान साथै मध्य र पश्चिमी पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

शनिबार देशको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थान र पश्चिमी भूभागका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३० दशमलव तीन डिग्री सेल्सियस रहेको छ। आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम छ दशमलव चार डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।