राजनीति

ओली काभ्रेको तीन नम्बरबाट भिड्ने

kp-oliएनेकपा माओवादीका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईले आगामी संविधानसभा निर्वाचनमा निर्वाचन क्षेत्र परिवर्तन गर्ने हल्ला चलिरहेका बेला नेकपा एमालेका केही शीर्ष नेताहरूलाई पनि बिभिन्न जिल्लाका कार्यकर्ताले आफ्नो निर्वाचन क्षेत्रमा निम्ता दिन थालेका छन्। एमाओवादी अध्यक्ष प्रचण्डले आगामी चुनाव तराई मधेशको निर्वाचन क्षेत्रबाट लड्ने घोषणा गरे लगत्तै एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई रौतहट क्षेत्र नम्बर एकका नागरिक अगुवा, शिक्षक, बुद्धिजीवी र सर्वसाधारणले गौरमा आएर चुनाव लड्न आग्रह गरेका थिए। २०५६ सालको आम निर्वाचनमा रौतहट १ बाट दुई तिहाई मत पाएर जितेका नेपालले २०६४ सालको निर्वाचनमा सो क्षेत्र छाड्दा पराजय भोग्नुपरेको थियो। मधेशी जनताको घनत्व रहेको सो क्षेत्रमै माधव नेपालको जन्मघर समेत रहेको छ। त्यस क्षेत्रका जनताले देशको प्रधानमन्त्री भइसकेको र फेरि पनि प्रधानमन्त्री हुने नेता भएकाले यसपटक जसरी पनि सोही क्षेत्रमा आउन आग्रह गरेका छन्। माधव नेपालले सो क्षेत्र छाड्दा अघिल्लो संविधानसभा चुनावमा कुनै पनि गतिला उम्मेदवार नभएपछि बबन सिंह जस्ताले चुनाव जितेका थिए। बरिष्ठ नेता नेपाल पनि रौतहट १ बाट उम्मेदवार बन्न सकारात्मक देखिएको बताइएको छ। त्यसका अलाबा काठमाडौं २ बाट नेपाल उम्मेदवार बन्ने सम्भावना छ। त्यस्तै अध्यक्ष झलनाथ खनाललाई पनि इलाम एकको अलावा झापाबाट पनि चुनाव लड्न स्थानीय पार्टीले आग्रह गरेको छ।

झापामा इलामतिरबाट बसाइ सरेर आउनेहरूको बाहुल्यता रहेका कारण पनि खनाललाई झापाबाट समेत उम्मेदवार बनाउन एमाले नेताहरूले चाहेका छन्। केपी ओली झापा ७ र काभ्रेको तीन नम्बर क्षेत्रबाट उम्मेदवार बन्न कार्यकर्ताहरूले आग्रह गरिरहेका छन्। कतिपयले भक्तपुर २ बाट पनि ओली उम्मेदवार बनिदिए हुन्थ्यो भन्ने चाहना राखेका छन्। हाल ओलीको बसोबास रहेको बालकोट भक्तपुर २ मा पर्छ। सोही क्षेत्रमा घर भएका युवा संघ अध्यक्ष महेश बस्नेत ओलीका दाहिने हात हुन्। उपाध्यक्ष बामदेव गौतमले पनि यसपटक निर्वाचन क्षेत्र परिवर्तन गर्ने सम्भावना छ। २०४८ सालदेखि लगातार बर्दिया क्षेत्र नम्बर १ बाट चुनाव लडेर दुई पटक जीत र दुई पटक हार व्यहोरेका गौतमलाई अघिल्लै पटक गृहजिल्ला प्युठानमा निर्वाचन लड्न आग्रह गरिएको थियो। यसपाली गौतम गृहजिल्ला प्युठानमा गएर मसालसग तालमेल गरि चुनाव लड्ने मनस्थितीमा छन्। एमाले केन्द्रीय प्रचार बिभागका सचिव सूर्य थापाले पनि गौतमलाई प्युठानबाट चुनाव लड्न सल्लाह दिएका छन्। थापा प्युठानकै हुन्। अर्का उपाध्यक्ष विद्या भण्डारीलाई भनें स्वास्थ्य र अन्य कारणले गर्दा यसपटक प्रत्यक्ष निर्वाचन नलड्न कार्यकर्ताले सुझाव दिने भएका छन्। एमाले महासचिव इश्वर पोखरेललाई पनि निर्वाचन क्षेत्र छान्नुपर्ने अवस्था छ। गृहजिल्ला ओखलढुंगाका राजनीतकि दलका नेता कार्यकर्ताका साथै बुद्धिजीवी र आफन्तहरूले ओखलढुंगाबाट चुनाव लड्न आग्रह गरेका छन्। पछिल्लो समयमा ओखलढुंगामा पोखरेलको आवतजावत पनि बाक्लिएको छ। पोखरेलको परिवार पुरोहित खलक भएकाले पनि त्यस क्षेत्रमा उनको राम्रो प्रभाव छ। काठमाडौं ५ नम्बर क्षेत्रमा संविधानसभा निर्वाचन लडेका पोखरेललाई यसपटक ४ नम्बरमा पनि आमन्त्रण भइरहेको छ। किनकि चाबहिल कपन क्षेत्रमा ओखलढुंगेहरूको निकै ठूलो जनघनत्व रहेको छ। सचिव विष्णु पौडेलका लागि रुपन्देही चार नम्बर क्षेत्र सुरक्षितनै रहेकाले अन्यत्र जाने सम्भावना छैन भनें दुई दंगाली सचिव युवराज ज्ञवाली र शंकर पोखरेल प्रत्यक्ष निर्वाचनमा जाने नजाने टुंगो छैन। कार्यकर्ताले शंकर पोखरेलाई प्रत्यक्ष निर्वाचनमा लैजान खोजेका छन्।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।