शिक्षा

प्रवेशिका परीक्षा २०६९ - ९ विद्यालय थप, ३३ विद्यार्थी कम

चैत्र १ गते विहिबारबाट शुरु हुने प्रवेशिका परीक्षा २०६९ मा जिल्लाका २ सय ४ माविबाट नियमित र एक्जाम्टेड गरी ९ हजार २ सय ८९ विद्यार्थी सहभागि हुने भएका छन् । गत वर्ष ९ हजार ३ सय २१ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए । एसएलसी परीक्षामा गत वर्ष भन्दा ९ विद्यालयका विद्यार्थी थपिएका छन् भने ३३ विद्यार्थीहरु कम सहभागी हुने भएका छन् ।

जिल्ला शिक्षा कार्यालयको जिल्ला परीक्षा समितिले सोमबार साँझ केन्द्र र विद्यार्थीका बारेमा औपचारीक रुपमा जानकारी गराएको छ । परीक्षामा यो वर्ष नियमिततर्फ ८ हजार २ सय ४० र एक्जाम्टेड तर्फ १ हजार २ सय ५८ विद्यार्थीले परीक्षामा फाराम भरेका थिए । सरकारले कक्षा १० मा ७५ प्रतिशत दिन विद्यालयमा अनुपस्थित विद्यार्थीलाई प्रवेशिका परीक्षामा सहभागी नगराउने निर्णय पछि काभ्रेमा परिक्षाका लागि फाराम भरेका २ सय ९ विद्यार्थीले परीक्षा दिन नपाउने भएका छन् । नियमिततर्फ ८ हजार ३१ जना विद्यार्थी मात्रै परीक्षामा सहभागि हुने परीक्षा शाखाका शालिकराम घिमिरेले जानकारी दिए । परीक्षामा नियमित र एक्जाम्टेड गरी ९ हजार २ सय ९ विद्यार्थी सहभागि हुने भएका छन् । ६६ निजी विद्यालयका २ हजार विद्यार्थीले परीक्षा दिदै छन् भने १ सय ३८ विद्यालयका ७ हजार २ सय ८९ विद्यार्थीले परीक्षामा सहभागिता जनाउनेछन् । गत वर्ष ६३ निजी र १ सय ३२ सामुदायिक विद्यालयका विद्यार्थीहरु सहभागि थिए । ३ निजी र ६ सामुदायिक माध्यमिक विद्यालय यो वर्ष पहिलो पटक प्रवेशिका परीक्षामा सहभागि भएका छन् ।

चैत्र १ गते अंग्रेजी, २ गते नेपाली, ४ गते गणित, ५ गते विज्ञान, ६ गते सामाजीक, ७ गते जनसंख्या तथा वातावरण, ८ गते ऐच्छिक प्रथम र ९ गते ऐच्छिक द्धतिय विषयको परिक्षाको तालिका सार्वजनिक गरेको छ । गत वर्ष कायम गरिएका परीक्षा केन्द्रहरुलाई कायम राख्दै इन्द्रेश्वर उच्च मावि ख परीक्षा केन्द्रलाई यो वर्ष कुशादेवी उच्च माविमा सारिएको छ भने कृष्ण उमावि दाप्चाको भवन निर्माण कार्य जारी भएकाले लक्ष्मीनारायण उच्च मावि श्यामपाटीमा सारिएको छ । गत वर्ष जस्तै यो वष पनि ३९ परीक्षा केन्द्र कायम गरिएको छ । यो वर्ष पनि निजी विद्यालयहरुमा परीक्षा केन्द्र कायम गरिएको छैन । ३९ परीक्षा केन्द्रका लागि ३९ जना केन्द्राध्यक्ष र विद्यार्थी संख्याका आधारमा चारवटा परिक्षा केन्द्रमा सहायक परीक्षा केन्द्रको ब्यवस्था गरिएको छ । परीक्षाका लागि ३ सय ८३ जना गार्डको ब्यवस्था गरिएको छ । यो वर्ष सबै भन्दा धेरै डेडिथुम्का उच्च मावि महादेवस्थानमा ७ विद्यालयका ३ सय ७२ विद्यार्थी सहभागि हुने छन् भने सबै भन्दा कम भगवती उच्च मावि पलाञ्चोकमा ४ विद्यालयका १ सय ५१ विद्यार्थी सहभागि हुनेछन् ।

द्वन्द्वका कारण ग्रामिण भेगबाट शहर केन्द्रित भएको परीक्षालाई यो वर्ष पनि ग्रामिण क्षेत्रमै कायम गरिएको छ । जिल्लाको विकट गाविस डाँडापारीमा दुईवटा परीक्षा केन्द्र कायम गरिएको छ । उक्त केन्द्रमा १० गाविसका विद्यार्थीहरुले परीक्षा दिनेछन् । भैरव मावि परीक्षा केन्द्र गोकुलेमा ५ वटा विद्यालयका विद्यार्थीले परीक्षा दिनेछन् भने कुमारी मावि जगथथलीमा ३ विद्यालयका विद्यार्थीले परीक्षा दिने छन् । जिल्लाको विकट क्षेत्र कोशिपारीमा पाँच वटा परीक्षा केन्द्र कायम गरिएको छ । १७ गाविस रहेको कोशिपारीमा २१ वटा माध्यमिक विद्यालय छन् । गत वर्ष प्रवेशिका परिक्षा चैत्र ७ गतेबाट परिक्षा शुरु भएको थियो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।