शिक्षा

एसएलसीमा काभ्रेमा ६८.३४ प्रतिशत उत्तीण, पनौतीका प्रतिक थापाले ल्याए ९२.८७ प्रतिशत

यस बर्षको एसएलसीको नतिजा बुधबार साँझ प्रकाशित भएको छ । जसअनुसार नियमिततर्फ काभ्रेमा कुल ५ हजार ६ सय ५७ अर्थात ६८ दशमलव ३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

नतिजाअनुसार काभ्रेमा विशिष्ट श्रेणीमा ५ सय ५४ अर्थात ६ दशमलव ६९ प्रतिशत, पहिलो श्रेणीमा २ हजार २ सय ५ अर्थात २६ दशमलव ६४ प्रतिशत, दोस्रो श्रेणीमा २ हजार ६ सय ३४ अर्थात ३१ दशमलव ८२ प्रतिशत तथा तेस्रो श्रेणीमा २ सय ६४ अर्थात ३ दशमलव १८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै ७ जनाको परीक्षाफल दोहोरो फारामका कारण स्थगित भएको छ ।

काभ्रेमा नियमित तर्फ ८ हजार २ सय ७७ जना विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए । यस्तै एक्जाम्टेडतर्फ १ हजार ४४ जनाले परिक्षा दिएकोमा २ सय ४८ अर्थात २३ दशमलव ७५ प्रतिशतमात्रै उत्तीर्ण भएका छन् । त्यसमध्ये १ सय ७२ जना दोस्रो श्रेणी तथा ७६ जना तेस्रो श्रेणीमा उत्तीर्ण भएका छन् । यद्यपि जिल्ला शिक्षा कार्यालयले परीक्षाफल हेरेर आज साँझमात्रै यस विषयमा आधिकारिक जानकारी दिने भएको छ ।

काभ्रेको धुलिखेलस्थित जिल्ला कारागारबाट एसएलसी परीक्षामा सहभागी ५ जना कैदी वन्दीमध्ये ४ जना उत्तीर्ण भएका छन् । त्यसमध्ये मिल्चेका शेरवहादुर वाइवा, सस्र्युंखर्कका विश्वराम थापामगर र धुलिखेलका सुरेश लामा प्रथम श्रेणी र धुलिखेलकै पूर्णवहादुर तामाङ दोस्रो श्रेणीमा उत्तीर्ण भएका छन् । हालसम्म प्राप्त जानकारी अनुसार काभ्रे उच्च मावि पनौतीका प्रतिक थापाले ९२ दशमलव ८७ प्रतिशत अर्थात अंक ल्याएका छन् ।

काभ्रेमा एसएलसीका लागि ३९ वटा परिक्षा केन्द्र राखिएको थियो यो वर्ष निजी विद्यालयहरु विच सहमति हुन नसक्दा नीजि विद्यालयमा रहेका परीक्षा केन्द्रहरु कटौती गरिएको थियो । विगतमा एसएलसी परीक्षाको नतिजा रातीमात्रै प्रकाशन हुने भए पनि केही बर्षदेखि साँझपख प्रकाशन हुँदै आएको छ । नतिजा प्रकाशनसँगै काभ्रेको बनेपा, धुलिखेल, पनौती, पाँचखाल लगायतका स्थानमा रहेका साइबरहरुमा विद्यार्थीको घुइँचो लागेको थियो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।