मुख्य समाचार समाज

भारतबाट आएर क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु

बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज मृत्यु भएको छ। गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्य अवस्था असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताए।

उनका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवककोे मृत्युु भएको थियो। क्वारेन्टिनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृत्यु भएको जानकारी दिनुभयो। कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै सङ्कलन गरिसकिएकाले आजै रिपोर्ट आउने उनको भनाइ छ।

एकैदिन आठ सङ्क्रमित भेटिएको नरैनापुरमा सङ्क्रमितको सम्पर्कमा आएका २६३ जनाको शनिवार स्वाब सङ्कलन गरिएको छ। पहिलो चरणमा सङ्क्रमित आठ जनाको सम्पर्कमा आएका २८४ जनाको कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गर्न नेपालगञ्जबाट स्वास्थ्य टोली खटिए पनि शनिबार २६३ जनाको सङकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत एवम् कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए।

राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टिनमा राखेको छ। गत बुधबार जिल्ला स्वास्थ्य कार्यालय नेपालगञ्जबाट खटिएको स्वास्थ्य टोलीले त्यहाँ शङ्कास्पद ४५ जनाको स्वाब नमूना सङ्कलन गरी भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा नरैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय आठ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

हाल नरैनापुर गाउँपालिकामा निर्माण भएका ११ क्वारेन्टिनमा रहेका ६४१ नेपाली सबै भारतबाट आएका हुन्। पछिल्लो समयमा भारतका विभिन्न ठाउँमा बाँके प्रवेश गर्नेमा नरैनापुरका बढी छन्। भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी सीमामा अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टिनमा राखेको छ। नरैनापुरका सङ्क्रमित आठै जनालाई उपचारका लागि दाङको बेलझुण्डीस्थित प्रदेश सरकारको कोरोना विशेष आइसोलेशन अस्पतालमा पठाइएको छ। बाँकेमा सङ्क्रमित ३३ पुगेसँगै यहाँका अन्य स्थानीय तहले सतर्कता अपनाएका छन्।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।