राजनीति

पौडेल पक्षका असहमति वाबजुद देउवाद्वारा कांग्रेसमा विभाग गठन

नियमित कार्यकाल सकिनु दुई दिनअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभाग प्रमुख मनोनित गरेका छन्। सभापति देउवाले पार्टीको विधान अनुसार ४७ मध्ये १३ केन्द्रीय विभागको प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गरेका छन्।

नवगठित विभाग प्रमुखहरुमा संगठनमा गोपालमान श्रेष्ठ, संघीय मामिला तथा प्रदेश समन्वयमा रमेश रिजाल, मुस्लिममा फरमुल्लाह मन्सुर र स्थानीय तह समन्वयमा अर्जुनप्रसाद जोशी मनोनित भएका छन्।

सभापति देउवाले वित्तीय तथा सहकारी संस्था समन्वयमा आनन्दप्रसाद ढुंगाना, तराई–मधेस समन्वयमा अजयकुमार चौरसिया, यातायात व्यवसायी समन्वयमा महेन्द्र यादव, तरुणमा शंकर भण्डारीलाई प्रमुखको जिम्मेवारी तोकेका छन्। आदिवासी जनजातिमा सीता गुरुङ, नेपाली जनसम्पर्क समिति समन्वयमा गोविन्द भट्टराई, उद्योग व्यापारमा चीनकाजी श्रेष्ठ, सूचना, सञ्चार तथा प्रचारमा प्रवक्ता विश्वप्रकाश शर्मा र श्रमिक तथा ट्रेड युनियनमा शिवप्रसाद हुमागाईलाई जिम्मेवारी दिइएको छ।

१३ विभाग प्रमुखमध्ये १२ जना सभापति देउवा निकट हुन् भने हुमागाई कृष्णप्रसाद सिटौला निकट मानिन्छन्।

पाँच आमन्त्रित सदस्य थप
शनिवार नै पार्टीको विधान तथा नियमावलीको व्यवस्थाबमोजिम सभापति देउवाले केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा कृष्णकिशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहरनारायण श्रेष्ठ (धनकुटा) र ध्रुव वाग्ले (तनहुँ)लाई मनोनयन गरेको उनले बताए।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।