मुख्य समाचार राजनीति

कांग्रेसको धारणाबारे कुनै पनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न सभापति देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने वीर शहीदप्रति उच्च सम्मान एवं श्रद्धाञ्जलि अर्पण गरेका छन्।

उनले आज एक शुभकामना सन्देशमार्फत नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/६३ को सफलतापश्चात काँग्रेसको नेतृत्वमा मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रूपमा स्थापित भएको उल्लेख गरेका छन्।

उनले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेका छन्।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको बताउँदै सभापति देउवाले उच्च सतर्कता र दृढ मनोबलका साथ यो महामारीको सामना गर्न सबैलाई आग्रह गरेका छन्।

साथै उनले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको र संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक भएको र केन्द्रीय समितिको बैठकबाट यसबारे संस्थागत निर्णय गर्ने अवगत गराउँदै काँग्रेसको धारणाबारे कुनै पनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्नसमेत आग्रह गरेका छन्।

सन्देशको पूर्णपाठ


गणतन्त्र दिवसको शुभकामना !

गणतन्त्र दिवसको अवसरमा लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्नु हुने वीर शहिदहरुप्रति उच्च सम्मान प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ को सफलता पश्चात नेपाली कांग्रेसको नेतृत्वमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको हो । नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको छ । उच्च सर्तकता र दृढ मनोबलका साथ यो महामारीको सामना गर्न म सबैलाई आग्रह गर्दछु ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भू—भाग हुन् । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक छ । केन्द्रीय समितिको बैठकबाट यसबारे संस्थागत निर्णय गर्नेछौं । नेपाली कांग्रेसको धारणा बारे कुनैपनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न आग्रह गर्दछु ।

अन्त्यमा, गणतन्त्र दिवसको यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना प्रकट गर्दछु ।

जय नेपाल !

शेरबहादुर देउवा
सभापति

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।