राजनीति

काभ्रे काँग्रेसमा फेरी महाभारत

बनेपा,

नेपाली कांग्रेस काभ्रेमा फेरी महाभारत शुरु भएको छ । केन्द्रमा दुई पक्षका नेताहरु मिलेको बताइरहेका बेला काभ्रेमा भने कांग्रेस भित्रको गुटले कांग्रेसजनहरु नै रणभुल्लमा परेका छन् । कांग्रेस काभ्रेले पूर्व सभापति मधु आचार्यलाई कार्यालयका सामाग्री फिर्ता नगरेको भन्दै स्पष्टिकरण सहित कारवाही गरेको सर्कुलर क्षेत्र र गाउँ समितिहरुमा पठाएको छ । आचार्य कांग्रेसका कुनै पनि आधिकारिक कार्यक्रमहरुमा सहभागि हुन पाउने छैनन । आचार्यको समुह उक्त कुरा मान्न तयार छैन ।

पार्टीका संस्थापक नेता विपी कोइरालाको ३० औं स्मृति दिवसमा आयोजित कार्यक्रमबाट कांग्रेसको महाभारतले थप उचाई प्राप्त गरेको छ । साउन ७ गते बनेपाको पार्टी भेन्युमा आयोजना गरेको जिल्ला समितिको कार्यक्रममा पूर्व सभापति मधु आचार्य र लामो समय सचिव भई सभापति पदका उम्मेदवार रहेका रामकुमार मुल्मीलाई मञ्चमा नबोलाई वेवास्ता गरेपछि क्रुद्र भएको आचार्यको समुहले ९ गते मंगलबार नै नेपाल विद्यार्थी संघका नाममा सोहि कार्यक्रम आयोजना ग-यो ।

नेविसंघले गरेको कार्यक्रममा पार्टीका संस्थापनका कोहि सहभागि भएनन् । क्षेत्र नं १ का क्षेत्रिय सभापति तिर्थ लामा बाहेक अरु सबै मधु आचार्यको समुहका नेता कार्यकर्ता मात्रै सहभागि भए । ७ गतेको कार्यक्रममा पार्टी सभापति शुशिल कोइराला, महामन्त्री कृष्ण सिटौला र केन्द्रिय सदस्य डा.रामशरण महत लगायतका नेता सहभागि भएका थिए । नेविसंघको कार्यक्रममा पुर्व उपसभापति तथा केिन्द्रय सदस्य गोपालमान श्रेष्ठ, मनमोहन भट्टराई सहभागि थिए ।

पार्टी सभापति शिव हुमागाईलाई आचार्यलाई मञ्चमा बोलाउन केहि कार्यकर्ताहरुले आग्रह गरेका थिए तर उनले धेरै कार्यकर्ताहरुको चाहना विपरीत आफु जान नसक्ने भन्दै आचार्यलाई कार्यकर्ताकै छेउमा राखिदिएका थिए । आचार्यले उत्पादन गरेका धेरै कार्यकर्ताहरुले मञ्च भरिएपछि पछाडी बस्ने कार्यकर्ताहरुले खासखुस गरेका थिए । केहिले आचार्यको कारवाही जुँगाको लडाई भन्दै थिए ।

काभ्रेमा पार्टी एकिकरण भए देखि नै तिर्थ पसखल, मधु आचार्य, रामकुमार मुल्मीहरुको समुहले काभ्रेमा फरक फरक कार्यक्रम गर्दै आएको छ । कहिले राजेन्द्र खरेलका छोरा महेश खरेलको एनजिओ मार्फत त कहिले मधु आचार्य संलग्न भएको थर्ड आइ नेपालकै नाममा कांग्रेसका कार्यक्रम गर्न थालेपछि जिल्ला समितिले एनजिओको कार्यक्रममा पार्टीको झण्डा दुरुपयोग गर्न रोक लगाएको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।