राजनीति

काँग्रेस काभ्रेमा सोमे इन्, मधु आउट

नेपाली काँग्रेस काभ्रेले आज गरेको कार्यक्रम अत्यन्तै भव्य भएको छ । आज काँग्रेसकै अर्को पक्षले गर्ने कार्यक्रम कस्तो हुने हो भन्न सकिन्न । आइतबारको कार्यक्रममा सुशीलदा प्रमुख अतिथि हुनुहुन्थ्यो । प्रहरी र समाजमा विवादास्पद छवि भएका, पहिला एमाले निकट युथफोर्सका हर्ताकर्ता भनिएका बासडोलका सोमबहादुर तामाङ (सोमे) र माओवादीले हत्या गरेका अर्जुन लामाका छोरा सञ्जीव लामा (जो गोठाटार गोली काण्डमा मुछिएका थिए) लाई ऐतिहासिक पार्टी नेपाली काँग्रेसले ३० औं वीपी स्मृति दिवसको अवसर पारेर पार्टी प्रवेश गर्दै टीका, मालाले स्वागत गरेको छ । माओवादी, एमालेका ४०० युवा युवती काँग्रेसमा प्रवेश गरेको काँग्रेसले जनाएता पनि पार्टी प्रवेशको लाइनमा करीब १३० युवाहरु जोशका साथ मञ्चमा पुगेका थिए । काभ्रेका पार्टी सभापति शिवप्रसाद हुमागाईंले सञ्जीव र सोमेलाई अँगालो हाल्दै, गाला मुसार्दै आफू फुरुङ्ग हुनुभएको थियो ।

कार्यक्रम संचालक सचिव अच्युत पौडेलले पूर्व पार्टी सह सभापति तीर्थ पसखललाई तीन पल्ट नाम लिई मञ्चमा आमन्त्रण गर्नुभएको थियो भने पूर्व पार्टी सभापति मधु आचार्य, पूर्व सचिव रामकुमार मुल्मीलाई मञ्चमा आमन्त्रण समेत गरिएको थिएन । यसबाट प्रष्ट हुन्थ्यो अब काँग्रेसमा सोमेका दिन आए । सोमेहरु हाईहाई, र मधुहरु बाईबाई – पुराना काँग्रेस र पत्रकारहरु कार्यक्रममा यसो भन्दै थिए ।

वीपी स्मृति दिवस कार्यक्रममा महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री डा. रामशरण महत, युवा नेता गुरु घिमिरे, जिल्ला सभापति शिवप्रसाद हुमागाईं, सचिव शंखबुद्ध लामा लगायतले वीपी कोइरालाको योगदान, समसामयिक राजनीति र माओवादीका बारेमा बोलेका थिए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।