राजनीति

काँग्रेस र एमालेले उम्मेदवार छान्यो

आगामी मंसीर ४ गते हुने संविधानसभाको दोस्रो निर्वाचनको लागि नेपाली काँग्रेसले काभ्रेका चारै निर्वाचन क्षेत्रमा सम्भावित उम्मेदवारको नामावली तयार गरेको छ । गाविस र नगर समितिहरुका विभिन्न स्थानमा सोमबार भएको भेलाले सम्मावित उम्मेदवारहरुको सूची बनाएको हो । समाचार स्रोतका अनुसार क्षेत्र नं. १ को भकुण्डेवेशीमा भएको भेलाले प्रत्यक्षतर्फ शंखबुद्ध लामा, तीर्थ लामा, सिबी लामा र सञ्जीव लामाको नाम छनौट गरेको छ । त्यस्तै समानुपातिकतर्फ इन्द्रबहादुर दाहाल, जगतमान लामा, विक्रम गौतम, अक्कलबहादुर लामालाई प्रस्तावित गरिएको छ । क्षेत्र नं. २ मा ८० प्रतिशत भन्दा बढीले प्रत्यक्षतर्फ मधु आचार्यको नाम प्रस्ताव गरेको बताइएको छ । त्यस्तै प्रत्यक्षतर्फ नै सभापति शिव हुमागाईं, पूर्व सभापति इन्द्रमणि अधिकारी, क्षेत्रीय सभापति रमेश हुमागाईं, महाधिवेशन प्रतिनिधि ईश्वरी ओझाको नाम सूचीमा चढेको छ । समानुपातिकतर्फ भने कमला थापा, चन्द्रलक्ष्मी ताम्राकार, हर्षजीत लामा र गोपालबहादुर दर्लामीको नाम चयन भएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नं. ३ मा प्रत्यक्षतर्फ शिव हुमागाईं, मधु आचार्य, कञ्चनचन्द्र बादे श्रेष्ठ तथा समानुपातिकतर्फ जीवना बादे, रामकुमार मुल्मी, जयबहादुर लामा, गोमा गोले र प्रचण्ड प्रधानको चर्चा रहेको बताइएको छ । क्षेत्र नं. ४ मा प्रत्यक्षतर्फ पार्टी सचिव अच्युत पौडेल, कुमार लामिछाने, महेश खरेल, सुन्दरमणि आचार्य, ठाकुरप्रसाद न्यौपाने, सावित्री लामिछाने, डा. राम थपलिया तथा समानुपातिकतर्फ कृष्णबहादुर दनुवार, धर्मसिं लामा र प्रकाश लामाको नामावली तयार पारेको कांग्रेस सूत्रले बताएको छ ।

क्षेत्र नं. २ र ३ मा आचार्य र हुमागाईंबीचमा तालमेल भएमा काभ्रेमा काँग्रेसले बहुमत ल्याउने काँग्रेसीजनहरु बताउँदै हिड्न थालेका छन् ।

एमालेले पनि उम्मेदवार छान्यो

त्यस्तै नेकपा एमाले काभ्रेले पनि चुनावका लागि सम्भावित उम्मेदवारहरुको नामावली चयन प्रक्रिया प्रारम्भ गरेको छ । सोमबार जिल्ला पार्टी कार्यालयमा भएको छलफलबाट क्षेत्र नं. २ र ३ को लागि सम्भावित उम्मेदवारको नामावली चयन भएको हो । जस अनुसार क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ जिल्ला उपाध्यक्ष रामहरि सुवेदी, क्षेत्रीय अध्यक्ष रामकृष्ण हुमागाईं र जिल्ला समिति सल्लाहकार सम्झना केसीको नाम चयन भएको छ भने समानुपातिकतर्फ अमित लामा, शेखर लामा, देव लामा, राष्ट्रिय परिषद् सदस्य तुयुकाजी ताम्राकारको नाम चयन भएको एमाले स्रोतले बताएको छ ।

यसैगरी क्षेत्र नं. ३ बाट पार्टी जिल्लाध्यक्ष गोकुल बाँस्कोटा, अञ्चल कमिटी सदस्य कृष्णप्रसाद सापकोटा, जिल्ला सल्लाहकार उर्मिला वैद्यको नाम चयन भएको बताइन्छ भने समानुपातिकतर्फ क–कसको नाम चयन गर्ने भन्ने कुराको टुंगो लागेको छैन । लामो समयसम्म छलफल भए पनि क्षेत्र नं. १ र ४ मा कसैको नाम चयन हुन सकेन ।

उता विघटित संविधान सभामा काभ्रेमा तीनसिट जितेको एनेकपा माओवादीले क्षेत्र नं. १ मा सूर्यमान दोङ, २ मा अक्कलबहादुर थिङ, २ मा मिना तामाङ र ४ मा धु्रव पराजुली र इन्द्रबहादुर थिङको नाम चर्चामा रहे पनि यकिन भइसकेको छैन । चुनाव बहिष्कार गर्ने घोषणा गरेको वैद्य समूहको माओवादीबाट के हुने हो भन्ने बारेमा अझै खुल्न सकेको छैन ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।