मुख्य समाचार राजनीति

एमसीसीबारे नेकपाले लिन सकेन निर्णय, संसदले अनुमोदन नहुञ्जेल काम रोक्ने

फोटो: नेकपा केन्द्रीय सचिवालयकाे बैठक / सुर्य थापा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय शनिबार बसेको बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे ठोस निर्णय लिन सकेन।

संसदमा एमसीसी परियोजना विचाराधीन रहेकोले संसदबाट सो अनुमोदन नहुँदासम्म त्यसअन्तर्गतका कामहरू हाललाई स्थगित गर्ने निर्णय नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले गरेको छ।

शनिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सचिवालय बैठकले एमसीसी अनुमोदन नहुञ्जेल त्यसअन्तर्गतका काम रोक्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए।

"एमसीसी अन्तर्गतका कामहरू जति अनुमोदन भएपछि गर्नुपर्ने काम छन् ती अनुमोदन भएपछि नै गर्ने समझदारी भयो। संसदबाट एमसिसी अनुमोदन नहुँदासम्म त्यसअन्तर्गतका काम रोक्ने निर्णय भयो।"

‘बजेटमा प्रस्तुत अनुसूचीमा राखिएको एमसीसी शीर्षकको योजनाको बारेमा थप स्पष्टताका लागि छलफल भएको हो। एमसीसी संसदबाट अनुमोदन भएको खण्डमा त्यो लागू हुने । अनुमोदन भएन भने सरकारले वैकल्पिक व्यवस्था गरी अघि बढ्ने अर्थमन्त्रीले प्रष्ट पार्नुभएको छ,’ प्रवक्ता श्रेष्ठले भने।

एमसीसी अनुमोदन हुने वा नहुने संसदले फैसला गरेअनुसार हुने श्रेष्ठले बताए।

आजको सचिवालय बैठकमा अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल पनि सहभागी भएका थिए।

एमसीसीबारे पार्टीमा चर्को विवाद भएपछि माघ १९ मा नेकपा केन्द्रीय कमिटी बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले सम्झौता नसच्याई एमसीसी संसदबाट अनुमोदन गर्न नमिल्ने सुझाव पार्टी नेतृत्वलाई दिएको छ।

भिडियो:

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।