मुख्य समाचार राजनीति

नेपाली कांग्रेसले गर्‍यो गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

गण्डकी प्रदेश सभाको सोमवारको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ। सरकार कोरोना नियन्त्रणमा संवेदनशील नदेखिएको र पार्टीका तर्फबाट पटक–पटक ध्यानाकर्षण गराइए पनि त्यसको बेवास्ता गरिएको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो।

कांग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको रकम बाँडफाँडमा प्रत्यक्ष र समानुपातिक सांसदबीच विभेद गरिएको भन्दै सो विभेद हटाइनुपर्ने पनि माग गरेको छ।

यसअघि आइतबार पनि सोही विषयलाई लिएर कांग्रेसले बैठक अवरुद्ध गराएको थियो। सोमवारको बैठक शुरू हुनासाथ कांग्रेसका प्रदेशसभा सदस्य उठेर बैठक अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले पटक पटक बस्न आग्रह गरेका थिए।

बैठक अवरोध जारी भएपछि सभामुख अधिकारीले अर्को बैठक भदौ ९ गते १ बजेसम्मका लागि स्थगन गरेका छन्।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।