खेलकुद राजनीति समाज

पनौती रंगशाला निर्माणका लागि १३ फर्म भिड्दै

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय काभ्रेले काभ्रेको पनौतीमा निर्माण गर्न लागेको रंगशाला निर्माणका लागि टेण्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

व्यवस्थित शहर निर्माण भएपछि त्यसका लागि आवश्यक हुने खेलकुद मैदानसहितको रंगशाला आवश्यक हुने भएकाले कार्यालयले पनौतीमा क्षेत्रिय स्तरको रंगशाला निर्माण कार्य सुरु गरेको हो । कार्यालयले फुटबल मैदानसहितको रंगशाला निर्माणका टेण्डर आह्वानको लागि एक महिने सूचना प्रकाशित गरेको थियो । कार्यालयमा एक महिनाको अवधिमा सात वटा ई–विडिङ र ६ वटा कार्यालयमा नै आएर टेण्डर दर्ता भएका छन् । अन्तिम दिन शुक्रबार मात्रै कार्यालयमा पाँच वटा फर्मले दरखास्त दिएकोे कार्यालयले जनाएको छ । टिकट काउण्टर, प्याराफिट, कभर्ड हल, गार्ड हाउस टिकट काउण्टर र पार्किङ एरियाका लागि कार्यालयले साढे ८ करोड बराबरको टेण्डर आह्वान गरेको थियो । कार्यालयले एउटा फुटबल मैदानका लागि चाहिने मापदण्ड पुरा गरि रंगशाला बनाउने आफुहरुको योजना रहेको कार्यालयका प्रमुख डिभिजन इन्जिनियर दिलिप भण्डारीले जानकारी दिए ।

दर्ता भएका फर्महरुको आर्थिक मूल्याङकन गरि दश दिन भित्र विभाग पठाउने र एक महिनाभित्र सम्झौता गरिसक्ने उनले बताए । यो कार्य दुई वर्षसम्म सक्ने कार्यालयको योजना रहेको छ । रंगशालासँगै कम्पाउण्ड, प्रशासकिय भवन, पूर्व र पश्चिममा प्याराफिट, स्विमिङपुल बनाउने निर्णय गरेको छ । कार्यालयले यो काम पुरा गर्नका लागि बहुबर्षिय गुरु योजना बनाएको छ । यो रंगशाला शहरी विकास विभाग अन्र्तगतको सबैभन्दा ठुलो योजनाको रुपमा रहेको छ । विभागले एउटा जिल्लामा सभाहल, रंगशाला, सामुदायिक भवन हुनुपर्छ भन्ने योजना अघि बढाएको प्रमुख भण्डारीले बताए । कार्यालयले आगामी वर्ष दोलखा जिल्लाका एउटा सभाहल बनाउने योजना अघि सारेको छ । रंगशाला निर्माण भएपछि पनौती नगरपालिकालाई हस्तान्तरण गर्नेछ ।

जग्गा विवाद कायमै
सार्वजनिक जग्गा ब्यक्तिको नाममा देखिएपछि नगरपालिकाले राजनीतिक तहमा विवाद मिलाउन गठन गरेको समितिले विवाद मिलाउन सकेको छैन । बरु बैठकमा पत्रिकामा समाचार प्रकाशन भएपछि कुरा गर्नै गाह्रो भयो भन्दै घण्टौ गोहिका आँशु झरै जस्तै विलौना गरेर बसेका छन् । समितिका सदस्यहरु नै विवाद मिलाउन भन्दा पनि बल्झाएर राजनीति स्वार्थ पुरा गर्ने अभियानमा जुटेका छन् । नगरपालिकाले उक्त जग्गाको टुङ्गो नलागेसम्म पुरै क्षेत्रमा रंगशाला निर्माण नहुने निश्चित छ । विभागले जग्गा विवाद नमिलाए टेण्डर सम्झौतै गर्न नसकिने नगरपालिकालाई जानकारी गराईसकेको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।