खेलकुद राजनीति समाज

निजी जग्गामा क्षेत्रीय रंगशाला नबनाउन अन्तरिम आदेश

पनौतीमा क्षेत्रीय स्तरको रंगशाला बनाउन सम्बन्धित जग्गाधनीसँग सहमति नगरी गुरुयोजना बनाई टेन्डर आह्वान गरेपछि उत्पन्न भएको विवादले चर्को रूप लिएको छ।

रंगशाला निर्माण कार्यमा जुटेको पनौती नगरपालिका र शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले प्रक्रिया नपुर्याई टेन्डर आह्वान गरेको भन्दै सम्बन्धित जग्गाधनीले विरोध जनाएका थिए। विवाद बढेपछि रंगशाला निर्माणका लागि टेन्डर आह्वान गर्ने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले पनौती नगरपालिकाको योजनाअनुसार कार्य गरेको जनाएको छ भने पनौती नगरपालिकाले सम्बन्धित जग्गाधनीसँग सहमतिको प्रयास भइरहेको जनाएको छ।

रंगशाला निर्माणको गुरुयोजनामा आफ्नो सहमतिविपरीत १७ रोपनी १४ आना २ पैसा क्षेत्रफल जग्गा पारेको भन्दै जग्गाधनी गणेशकुमारी कणेल र नानीगीता कणेलले विरोध जनाएपछि अदालत पुगेको मुद्दामा पुनरावेदन अदालत पाटनले कानुनबमोजिम जग्गा प्राप्त नभएसम्म उक्त जग्गाको हदसम्म स्टेडियम निर्माण कार्य नगर्नू नगराउनू भनी विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको छ।
आफूहरूसँग कुनै सहमति नै नगरी गुरुयोजना बनाएर टेन्डरसमेत आह्वान गरेको बताउँदै कणेल परिवारले व्यक्तिगत सम्पत्तिको रक्षा हुनुपर्ने जनाउँदै पुनरावेदन अदालत पाटनमा निषेधाज्ञायुक्त परमादेश मुद्दा दायर गरेका थिए। साथै कणेल परिवारले राजनीतिक संयन्त्रको सिफारिसमा आफ्नो जग्गाको पनौती नगरपालिकाले चारकिल्ला प्रमाणितसमेत रोकेको आरोप लगाएका छन्।

‘बल मिच्याइँ र झुक्याउने तरिकाले गुरुयोजना बनाई टेन्डर आह्वान गरिएको छ’, जग्गाधनीका भतिजा कुलदीप कणेलले भने– ‘नगरपालिकाले चारकिल्ला प्रमाणित लिन जाँदा समेत रोकेको छ।’ रंगशाला निर्माणको गुरुयोजनामा परेको कणेलको १३२ कित्ता नम्बर रहेको १७ रोपनी १४ आना २ पैसा जग्गा २०३३ सालमा नापी भएको हो। तत्कालीन अस्थामा वसुन्धरा केसी प्रधानपञ्च, गोविन्दप्रसाद सुवेदी उपप्रधानपञ्च तथा तीर्थबहादुर बस्नेतलगायतका पदाधिकारी रहेको बेला गंगाप्रसाद कणेलको नाममा उक्त जग्गा नापी भएको थियो। गंगाप्रसाद कणेलको मृत्यु भएपछि उहाँको दुई श्रीमती गणेशकुमारी कणेल र नानीगीता कणेलको नाममा नामसारी भएको हो।

कानुनी प्रक्रिया नपुर्याई व्यक्तिको सम्पत्तिमा सार्वजनिक संरचना बनाउने निर्णयमा पुगेका राजनीतिक संयन्त्र पनि अहिले विवादको घेरामा परेको बताइएको छ। राजनीतिक संयन्त्रले एउटा गल्ती ढाकछोप गर्न अर्को गल्ती गर्दै छन् भन्दै कणेल परिवारले नगरपालिकाले प्रदान गर्नुपर्ने सेवासुविधाबाट वञ्चित गर्ने निर्णय गरेको समेत आरोप लगाएका छन्।

अहिले रंगशाला निर्माण गर्ने भनिएको सार्वजनिक जग्गा पनि गौचरण भएको भन्दै कणेल परिवारले गौचरणमा कुनै संरचना बनाउनुपर्दा सार्वजनिक सुनुवाइ गर्नुपर्ने बताएका छन्। कानुनी प्रक्रिया नपुर्याई टेन्डर आह्वान गर्न नहुने भन्दै उनीहरूले सम्बन्धित निकायले राष्ट्रिय धन अपचलन गर्न खोजेको आरोप पनि लगाएका छन्।

यस विषयमा टेन्डर आह्वान गर्ने निकाय शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय काभ्रेका प्रमुख दिलीप भण्डारीले पनौती नगरपालिकाको अनुरोधमा गुरुयोजना बनाई टेन्डर आह्वान गरेको बताउनुभएको छ। गुरुयोजना प्रस्तावित मात्र भएकाले नक्सा परिवर्तन गर्न पनि सकिने भन्दै उहाँले प्याराफिट, कभर्ड हल, प्रशासनिक भवन र केही कम्पाउन्ड बनाउन मात्र टेन्डर आह्वान गरेको र उक्त संरचना सार्वजनिक जग्गामा मात्र पर्ने रहेको बताउनुभयो।

पुनरावेदनको अन्तरिम आदेशले उक्त संरचना बनाउन नरोक्ने दाबी गर्दै उहाँले व्यक्तिको जग्गा प्राप्ति भएपछि नक्सा परिवर्तन गरी गुरुयोजनालाई अन्तिम रूप दिइने बताउनुभयो। तर कणेल परिवारले भने गुरुयोजना पूर्ण नभई बजेट कसरी निकासा भयो र टेन्डर किन आह्वान गरियो भन्नेबारेमा आफूहरू अचम्ममा परेको उल्लेख गरेका छन्।

रंगशाला बनाउने गुरुयोजनामा व्यक्तिको जग्गा परेको बताउँदै पनौती नगरपालिकाका कार्यकारी अधिकृत सुदेव पोखरेलले अहिलेको विवाद नसुल्झिए दर्ता खारेज वा जग्गा प्राप्ति ऐनअनुसार अगाडि बढ्ने बताउनुभएको छ। कणेल परिवारले रंगशाला निर्माणका लागि तयार पारिएको गुरुयोजनामा परेको आफ्नो जग्गाको नगरपालिकामा तिरो तिरिरहेका छन्।

-
रामकृष्ण चापागाईं, काभ्रे

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।