मुख्य समाचार समाज

बालुवाटारमा प्रदर्शन गर्नेलाई पानीको फोहरा

प्रहरीले बन्दाबन्दीको उल्लङ्घन गर्दै सडकमा प्रदर्शन गर्न खोज्ने १० जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौँको बालुवाटार क्षेत्रमा लकडाउनको विरोध गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीलाई आज पानीको फोहरा हानेर हटाइएको र नियम उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए।

उनका अनुसार प्रदर्शनकारीले सरकारले बन्दाबन्दीको आदेश जारी गरेकामा त्यसको उल्लङ्घन गरी सडकमा समेत अवरोध गरेका थिए। सोही क्रममा पानीको फोहरा हानेर हटाइएको थियो। उनीहरुले सङ्क्रमक रोग नियन्त्रण ऐन २०२० अनुसार कानून उल्लङ्घन गरेको प्रहरीले जनाएको छ।

सरकारले यही जेठ ३२ सम्म लकडाउनको आदेश जारी गरे पनि त्यसको उल्लङ्घन गर्दै विभिन्न क्षेत्रमा पसल खोल्ने, सवारी सञ्चालन गर्ने र हिँडडुल गर्ने क्रम बढेको छ। आज प्रहरीले विभिन्न क्षेत्रमा पसल बन्द गर्न खोज्दासमेत अवरोध भएको जनाइएको छ। सरकारले बन्दाबन्दीलाई खुकुलो बनाउने विषयमा छलफल जारी रहेको जनाएको छ।

तस्बिरः @DeupalaMonika @BikramRai0

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।