समाज

क्यान महासंघको अध्यक्षमा नवराज कुँवर विजयी

सूचना प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) महासंघको १३औं कार्यसमितिको निर्वाचनमा अध्यक्षमा नवराज कुँवर विजयी भएका छन् । उनले एक मात्र अध्यक्षका प्रतिष्पर्धी सुनैना पाण्डेलाई करिब १३प्रतिशत मतले पराजित गर्दै विजयी हासिल गरेका हुन् । कुँवरले ५६.१० प्रतिशत मत हासिल गरे । पान्डेले ४३.९० प्रतिशत मत ल्याइन । निर्वाचनमा संस्थागत आजीवन समूह सदस्यमा पनि कुँवर प्यानल विजयी भएको छ । यसअन्तर्गत डा. पवनकुमार शर्मा, नवीन जोशी र राजेन्द्र अर्याल विजयी भएका छन् ।

त्यस्तै संस्थागत समूहतर्फ पाण्डे प्यानल विजयी भएको छ । यसअन्तर्गत अरुण वंशल, उमेश रघुवंशी, रञ्जित पोदार र बुद्धरत्न मानन्धर विजयी भए । संस्थागत महिलातर्फ यसअघि नै कुँवर पक्षबाट शर्मिला भुजेल र पाण्डे तर्फबाट सरिता सिंह र रेभा राजभण्डारी निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै व्यक्तिगत आजीवन सदस्यतर्फ पाण्डे प्यानलकै हेमपाल श्रेष्ठ, सुमनलाल प्रधान र अमित अग्रवाल विजयी भए । उनीहरूले कुँवर समूहबाट उठेका प्रा.डा सुवर्ण शाक्य, विक्रम श्रेष्ठ र दामाेदर अधिकारीलाई पराजित गरे ।

त्यस्तै व्यक्तिगत साधारण समूहमा कुँवर समूहका खुशल रेग्मीबाहेक सबै सदस्य पाण्डे प्यानलबाट निर्वाचित भएका छन् । यसअन्तर्गत पाण्डे समूहका रेगबहादुर भण्डारी, चन्द्रविलास भुर्तेल, श्रीधर मरासिनी विजयी भएका छन् । व्यक्तिगत महिलातर्फ पाण्डे प्यानलका सुस्मा शर्मा र गुणकेशरी प्रधान र कुँवर प्यानलकी रत्नतारा वैद्य यसअघि नै निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी प्रदेश ४ बाट कास्कीका जगनबहादुर गुरुङ र बागलुङका कृष्ण पौडेल विजयी भए । यी दुवै पाण्डे प्यानलबाट विजयी भएका हुन् ।

त्यस्तै प्रदेश ३ मा कुँवर प्यानलका शेखरनाथ दुलाल (काभ्रे) र भानु शर्मा (चितवन) निर्वाचित भए ।

प्रदेशतर्फ दिपेन्द्रकुमार सिंह र भुपालदास श्रेष्ठ प्रदेश २, रेशम गिरी र ध्रुवराज शर्मा प्रदेश ५, दलबहादुर खड्का र भीम मल्ल कर्णाली प्रदेश र हर्क सेट्टी र खेमराज ढुंगाना सुदुरपश्चिम प्रदेशबाट निर्विराेध निर्वाचित भएका छन् । उनीहरू सबै कुँवर प्यानलका हुन् । त्यस्तै ठाकुरकुमार श्रेष्ठ र भुपेन्द्र मैनाली प्रदेश नं. १ बाट निर्विरोध भएका छन् । श्रेष्ठ र मैनाली भने पाण्डे प्यानलका हुन् ।

वस्तुगत सदस्य समूहबाट यसअघि नै कुँवर प्यानलबाट नारायणबहादुर थापा, भोजराज भट्ट, चिरञ्जिवी अधिकारी, प्रताप सापकोटा निर्विराेध निर्वाचित भइसकेका छन् ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।